जन्मदिनमा बत्ती निभाउने, केक काट्ने, जुठो खुवाउने र अङ्ग्रेजी भाषाका केही शब्द बोल्दै थपडी बजाउने प्रवृत्ति बढ्दै गएको छ । यसै सन्दर्भमा हाम्रो मौलिक संस्कृति पनि कायम रहोस् र जन्मदिन मनाउने परिपाटीलाई आधुनिक स्वरूप पनि दिन सकियोस् भन्ने उद्देश्यले जन्मदिनको शुभकामना गान तयार पारिएको छ । उक्त गानमा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य केदारनाथ तिमल्सिनाले गीतकारको, संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सङ्गीतकारको, बालकृष्ण सेवाचार्यले बाद्यसंयोजकको र गीतिभास्कर मच्छेश्वर सापकोटाले सुपरिवेक्षकको भूमिका निर्वाह गर्नुभएको छ । मच्छेश्वर सापकोटा, हरि मञ्जुश्री, इ. रोशन मञ्जुश्री अधिकारी, सरस्वती सापकोटा, गीता अधिकारी र केदारनाथ तिमल्सिनाको स्वर त्यस गानमा सुन्न सकिनेछ । यसरी तयार भएको जन्मदिनको शुभकामना गान यही माघ २६ गते शनिबार दिउँसो १२ः३० बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने समारोहमा सार्वजनिक हुनेछ । उक्त गान त्यसै दिनदेखि अक्षरधाम यु–ट्युब च्यानलबाट सुन्न–सुनाउन र डाउनलोड गर्न–गराउन सकिनेछ । अरूको सांस्कृतिक र भाषिक दासता अस्वीकार गर्ने र आफ्नै संस्कृति र भाषाको जगेर्ना गर्न खोज्ने नेपालीहरूले आफ्नो, आफ्ना परिवारको र आफन्तको जन्मदिनमा उक्त गानको उपयोग गर्नुहुनेछ भन्ने आशा गरिएको छ ।