प्रसिद्ध रङ्गकर्मी तथा नाट्य–अभिनेता हरिबहादुर थापाले लेख्नुभएको ‘रङ्गमञ्चमा म’ नामक आत्मकथात्मक कृतिलाई हिजो असोज १६ गते बुधबार सार्वजनिक गरियो । पुस्तक सार्वजनिकीकरण समारोह अग्रज संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःको प्रमुख आतिथ्य र हरि मञ्जुश्रीको सभापतित्वमा भएको थियो । पुस्तकलाई प्रमुख अतिथि, सभापति र कृतिकारका साथमा डा. अभि सुवेदी, डा. दयाराम श्रेष्ठ, नीर शाह र डा. सावित्री कक्षपतिले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । समारोहमा कृतिकार हरिबहादुर थापाले विगतमा आफूले अभिनय गरेका नाट्यकृतिका केही अंशहरू प्रस्तुत गर्नुभएको थियो । समारोहमा पुस्तक बिक्रीबाट उठेको सम्पूर्ण रकम असहाय बालबालिका र बृद्धबृद्धाहरूको स्याहारसुसार गरिरहेको संस्था तुलसालय फाउन्डेसनको सहयोगका लागि सञ्चालक सरु सुवेदीलाई मिठु थापाले प्रदान गर्नुभएको थियो । पुस्तकको प्रकाशक तथा कार्यक्रमको आयोजक शब्दयात्रा प्रकाशन थियो । काठमाडौँको भाटभटेनीमा अवस्थित आम्रपाली ब्यान्क्वेटमा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकार, कलाकार तथा पत्रकारहरूको समुपस्थिति थियो । जनसञ्चार टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो । समारोहमा इ. रोशन अधिकारी, शारदाप्रसाद शर्मा, कृष्णमणि कुइकेल, कालिका त्रिपाठी पन्त, केदारनाथ तिमल्सिना, वेदप्रसाद गौतम आदिले विभिन्न सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो । ‘रङ्गमञ्चमा म’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २३७ औँ कृति हो ।