सानै उमेरमा दुर्घटनाबाट एउटा गोडा गुमाएर पनि वाङ्मय क्षेत्रको सेवा गर्ने उद्देश्यका साथ साहसपूर्वक नृत्य विधामा लाग्नुभएकी तथा एउटा मात्रै गोडाबाट नृत्य गर्ने नेपालकै प्रथम नृत्याङ्गना बनेर नेपालका विभिन्न जिल्ला र विदेशमा समेत आफ्नो नृत्यकौशल प्रस्तुत गरी शारीरिक विकलाङ्ग व्यक्तिहरूका लागि प्रेरणाको अजस्र स्रोत बन्नुभएकी रोमा न्यौपाने (मोरङ) लाई ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान, २०८१’ समर्पण गरिएको छ । उहाँलाई पदम दाहालले माला, रेजिना तुलाधरले उपहार, द्रोणप्रसाद श्रेष्ठले भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको नाउँमा समर्पण गर्ने गरी आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ (भोजपुर) ले गर्नुभएको हो ।