शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा होमतोत्र शिक्षा सम्मान नेपालकै पहिलो सामुदायिक शिक्षालयका संस्थापक आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृति र सम्मानस्वरूप उहाँको नाउँबाट उहाँकै जन्मभूमि तथा कर्मभूमिमा संस्थापित र सञ्चालित षडानन्द संस्कृत गुरुकुलम् (दिङला, भोजपुर) मा समर्पण गर्ने भएको छ । वटुकहरूमा आध्यात्मिक चेतना, आत्मानुशासन, नैतिक चरित्र, कर्तव्यपरायणता र मानवीय भावनाको शिक्षा दिन सफल भएकोमा उक्त गुरुकुललाई सम्मान गर्ने निर्णय गरिएको हो । शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिने यस सम्मानको आर्थिक व्यवस्थापन रमेश पौड्यालले गर्नुभएको हो । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहने गरी शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मान्य व्यक्तित्व चयन समितिले षडानन्द संस्कृत गुरुकुलमलाई सम्मान गर्ने निर्णय गरेको हो । यो सम्मान ग्रहण गर्न स्वीकृति दिएकोमा षडानन्द संस्कृत गुरुकुलमप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।