Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesयसैले मेरो सहायता शब्दयात्रालाई

यसैले मेरो सहायता शब्दयात्रालाई

— द्रोणप्रसाद श्रेष्ठ

समारोहको सभापतित्व ग्रहण गरिदिन यस संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले मलाई आग्रह गर्नुभएको थियो । उहाँको आग्रह स्वीकार गरेकाले सभापतिका रूपमा मलाई वरण गरिएको छ । यसबाट म गौरवान्वित बनेको छु ।
हरि मञ्जुश्री मेरा प्रिय भाइ हुनुहुन्छ । उहाँलाई म धेरै वर्षअघिदेखि चिन्छु । उहाँको क्षमता मलाई अद्भुत लाग्छ । उहाँको परिश्रम देखेर म आश्चर्यचकित हुन्छु । उहाँको योजना सुन्दा म दङ्ग पर्छु । हामी दुवैजना भोजपुर जिल्लामा जन्मेका हौँ । उहाँकै नेतृत्वमा शब्दयात्रा प्रकाशनको स्थापना भएकाले सुरुदेखि नै यसका हरेक गतिविधिसँग म परिचित छु । यस संस्थाका केही कार्यक्रममा म पनि उपस्थित भएको छु । यस संस्थाका सञ्चालकहरू खटेका देख्ता मलाई प्रशंसा गर्न मन लाग्छ । यस संस्थाबाट प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ मा मेरा पनि केही लेखहरू छापिएका छन् । यो संस्था प्रकाशक बनेर छापिएका थुप्रै पुस्तकहरूको पाठक म पनि हुँ । यस संस्थाले ठूलो उद्देश्य राखेको छ । हामी सबैको सहयोग भयो भने यस संस्थाले राखेको उद्देश्य पूरा हुने कुरामा म विश्वस्त छु । यस संस्थाका अहिलेसम्मका क्रियाकलाप हेर्दा यो संस्था नेपालकै उदाहरणीय सामुदायिक संस्था हुन सक्ला कि भन्ने मलाई आशा लागेको छ ।
शब्दयात्रा प्रकाशनले मुलुकका लागि आफ्नो क्षेत्रबाट राम्रो काम गर्ने शिक्षासेवी, साहित्यकार, पत्रकार, अन्वेषक, इतिहासकार, समालोचक जस्ता महान् व्यक्तिहरूलाई सम्मान गर्ने गरेको सर्वविदितै छ । त्यस्ता सम्मानहरूमध्ये मेरै भाइबुहारी उर्मिला श्रेष्ठले ‘प्रशासनिक महिला प्रतिभा सम्मान’ का लागि आर्थिक व्यवस्थापन गरिदिएकी छन् । मेरा भाइ हिरण्य भोजपुरेबाट पनि यस संस्थाले सहयोग पाइरहेकै छ ।
मलाई पनि हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनको सम्मान कोषमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । मैले सहयोग गर्ने वचन दिएको थिएँ । दुर्भाग्यवश मेरी धर्मपत्नी मनका श्रेष्ठ क्यान्सर रोगका कारण थला परिन् । उनको उपचार सफल हुन सकेन र उनी २०७२ साल माघ १४ गते दिवङ्गत भइन् । अहिले एक वर्ष पुगेकै छैन । उनको जन्म २००३ साल मङ्सिर २८ गते भएको थियो । यो उनको जन्ममहिना हो । उनी धनकुटामा जन्मेकी थिइन् । उनका बुबा चन्द्रलाल श्रेष्ठ गायक, सङ्गीतकार र अभिनेता भएकाले उनी पनि कलाकारिता गर्थिन् । पहिले–पहिले नाटकहरूमा केटीको भूमिका केटाले नै गर्थे । धनकुटामा पनि त्यस्तै थियो । त्यस बेला धनकुटामा खेलाइने नाटकहरूमा पहिलोपटक केटीको भूमिकामा उनैले अभिनय गरेकी थिइन् । उनी त्यस बखत विद्यार्थी थिइन् । नाटककार विजय मल्लले लेखेको ‘कोही किन बर्बाद होस्’ नाटक प्रसिद्ध साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसको निर्देशनमा मञ्चन हुँदा ‘मनका श्रेष्ठले अभिनय नगर्ने भए म यो नाटकै देखाउँदिनँ’ भनेर तुलसी दिवसले भनेको कुरा म अझै सम्झिन्छु । उनी प्रभावशाली अभिनय गर्थिन् । उनमा गीत गाउने कला थियो । समाजसेवामा उनको उत्तिकै रुचि थियो । धेरैवटा सामाजिक संस्थाहरूमा उनी बाँधिएकी थिइन् । व्यावहारिक कारणले गर्दा उनले आफूभित्रको कला–प्रतिभा चम्काउन पाइनन् । आखिर उनले मलाई एक्लो बनाएर यो धर्ती छाडिदिइन् ।
उनको निधनपछि मलाई लाग्यो हरि मञ्जुश्रीले सम्मान कोषका लागि मसँग सहायता माग्नुभएकै छ भने किन म आफ्नी धर्मपत्नीको स्मृति र सम्मानमा अलिकति भए पनि केही रकम शब्दयात्रा प्रकाशनलाई नदिऊँ ? त्यसैले मैले १ लाख ११ हजार १ सय ११ रुपियाँ शब्दयात्रा प्रकाशनको सम्मान कोषका लागि प्रदान गर्ने निर्णय गरेको छु । मैले यो कुरा हरि मञ्जुश्रीलाई भनिसकेको छु, अहिले सार्वजनिक गरेको हुँ । मैले प्रदान गर्ने रकम कलाकारिता क्षेत्रका महिला प्रतिभालाई सम्मान गर्नका लागि उपयोग होस् भन्ने आफ्नो चाहना मैले उहाँलाई भनिसकेको छु । संयोगवश अहिले मेरी धर्मपत्नीको जन्ममहिना परेको छ र उनको स्मृतिमा सम्मानका लागि मैले वचनबद्धता व्यक्त गरेको कोषबाट यसै महिनादेखि कलाकारिता क्षेत्रकै महिला प्रतिभालाई सम्मान गर्ने व्यवस्था मिलाइएको छ । यो सम्मान ग्रहण गर्न प्रसिद्ध चलचित्र अभिनेत्री लक्ष्मी गिरीज्यूले स्वीकृति दिनुभएको छ । यो मेरा लागि खुसीको कुरा हो ।
शब्दयात्रा प्रकाशनबाट सम्मानित हुन लाग्नुभएका प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. डा. गार्गी शर्मा, रमेश खकुरेल र देवीप्रसाद वनवासीमा बधाई ज्ञापन गर्न चाहन्छु । यी सम्मानहरूको आर्थिक व्यवस्थापन गरिदिने गोपाल पराजुली, कविप्रसाद प्याकु¥याल, हरिगोपाल प्रधान र सकुल थापालाई धन्यवाद दिन चाहन्छु । उपयुक्त प्रतिभाहरूको चयन गरिदिने डा. पुरुषोत्तम खरेल, डा. सरस्वती आचार्य, सुरेन्द्र के. सी. र शिवनाथ मैनालीलाई धन्यवाद छ ।
सार्वजनिक हुन लागेका दुई कृतिमध्ये एउटा कृति मैले सम्पादन गरेको कृति ‘रचनापछिका विवेचना’ हो । यो कुन प्रकारको कृति हो भनेर मैले सम्पादकीयमा लेखिसकेको छु । त्यसैले अहिले म दोहो¥याउँदिनँ । पुस्तकमा पढ्न पाउनुहुने नै छ । यो कृति कस्तो छ र यसको कति महàव छ, मूल्याङ्कन सुन्न र पढ्न पाउने आशामा छु ।
मेरो पुस्तकसँगै सार्वजनिक हुने अर्को कृति ‘अग्निजल’ की कवयित्री भोजपुर जिल्लामै जन्मेकी प्रतिभा हुनुहुन्छ भन्ने सुनेँ । यसले मलाई खुसी तुल्यायो । उहाँलाई बधाई छ । उहाँबाट अरू पुस्तकहरू पनि लेखिऊन्, त्यसबाट भोजपुर र काभ्रे जिल्लाको गौरव बढोस्, मेरो शुभकामना छ ।
शब्दयात्रा प्रकाशनले जग्गा दानमा पायो भन्ने खबर भाइ हरि मञ्जुश्रीले मलाई फोनबाट सुनाउनुभएको थियो । मैले फोनबाटै जग्गादाताको नाम सोधेँ र अहिलेको जमानामा बनेपामा जग्गा दान गर्ने आधुनिक कर्ण कृष्णमणि कुइँकेललाई धेरै धन्यवाद दिएँ । हरि मञ्जुश्रीको भावना बुझेको मान्छेले मात्रै उहाँको समूह र शब्दयात्रा प्रकाशनलाई सहयोग गर्न सक्छ । उहाँले बुझ्नुभएको रहेछ र सहयोग गर्नुभयो । धेरै खुसी लाग्यो । त्यो जग्गा कहिले हेर्न पाइएला भन्ने लागिरहेको थियो । केही दिनअघि भाइ हिरण्य भोजपुरे, भाइबुहारी उर्मिला श्रेष्ठ र म बनेपा आयौँ । हरि मञ्जुश्रीले खुसी भएर जग्गा देखाउनुभयो । त्यही जग्गामा बनाइने भवनमा लेखक, पत्रकार र कलाकारहरूका लागि आरामदायी कक्ष र भोजन उपलब्ध गराएर सिर्जना र साधनामा सघाउने योजना छ भन्नुभयो । वाङ्मयसेवीहरूको सालिक राख्न पाए हुन्थ्यो भन्नुभयो । शब्दयात्रा प्रकाशनको यो योजना सफल होस्, शुभकामना छ । (सभापतिका रूपबाट अभिव्यक्त मन्तव्यको सम्पादित अंश)