हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यस समारोहमा उपस्थित हुनुभएका सबै महानुभावहरूमा शब्दयात्रा प्रकाशनका तर्फबाट र व्यक्तिगत रूपबाट पनि म हार्दिक स्वागत गर्न चाहन्छु ।
शब्दयात्रा प्रकाशनको स्थापना गरिएको करिब ७ वर्ष भयो । यस अवधिमा यस संस्थाले धेरै कामहरू गरिसकेको छ । मुख्य रूपमा — समाजसेवी तथा बनेपा नगरपालिका वडा नं. ६ का वडासदस्य कृष्णमणि कुइँकेलबाट दानमा जग्गा प्राप्त गरेको छ । निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, भाषा–साहित्य क्षेत्रमा लागेर सहिद बनेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, पहिलोपटक गीत रेकर्ड गरेकी गायिका मेलवादेवी गुरुङ र राष्ट्रिय पुरस्कार पाउने पहिलो वैज्ञानिक नरबहादुर भारती गरी नेपालका विशिष्ट व्यक्तित्व पाँचजनाको अर्धकदको सालिक बनाइसकेको छ र सालिक राख्ने स्तम्भको निर्माण पनि गरिसकेको छ । सालिक राखेर अनावरण गर्न मात्र बाँकी छ । नियमित रूपमा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाको प्रकाशन र ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको व्यवस्थापन पनि गरिरहेको छ । विभिन्न सहयोगीहरूको आर्थिक व्यवस्थापनमा १८ विधाका सम्मानहरूको स्थापना गरेर हरेक वर्ष राष्ट्रिय व्यक्तित्व तथा संस्थाहरूमा समर्पण गरिरहेको छ । विभिन्न लेखकहरूले लेखेका विभिन्न विधाका १०० वटा पुस्तकको प्रकाशन गरिसकेको छ । नीलकण्ठेश्वरधाम संरक्षण समितिबाट कार्यालय भवन निःशुल्क प्राप्त गरेको छ ।
अब यो संस्था यी कार्यक्रमलाई निरन्तरता दिँदै पुस्तकालय, सङ्ग्रहालय, अतिथिशाला आदि रहेको ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ निर्माण गर्न अग्रसर भएको छ । नेपाललाई वाङ्मयिक क्षेत्रको विशिष्ट उपहार दिने यस अभियानमा तपाईंहरू सबैको बौद्धिक सक्रियता र आर्थिक सहयोगको अपेक्षा राखिएको छ ।
यस संस्थाबाट विभिन्न १८ विधाका सम्मानहरू हरेक वर्ष समर्पण गरिन्छन् । तीमध्ये जेठ महिनामा समर्पण गरिने सम्मानहरू २०७५ साल जेठका लागि आज समर्पण गरिँदैछन् । तिनमा उर्मिला श्रेष्ठ भोजपुरेद्वारा व्यवस्थापित शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान सावित्री जङ्गम थापालाई, कृष्णहरि मैनालीद्वारा व्यवस्थापित शब्दयात्रा राष्ट्रझङ्कार सम्मान नरेन्द्रबहादुर श्रेष्ठलाई, कल्याण लम्सालद्वारा व्यवस्थापित शब्दयात्रा सिर्जना सम्मान द्रोणप्रसाद श्रेष्ठलाई, गीता मञ्जुश्रीद्वारा व्यवस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान नरेन्द्रकुमार अधिकारीलाई, आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान सुभाष स्मृति प्रतिष्ठानलाई र निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा शिक्षक सम्मान रामप्रसाद अधिकारीलाई समर्पण गरिँदैछ । यस संस्थाको सम्मान स्वीकार गरिदिनुभएकोमा उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
सम्मानित प्रतिभाहरूको चयन डाक्टर रजनी शाक्यको संयोजकत्वमा इन्जिनियर लक्ष्मण खड्का र पुस्तकालयविज्ञ देवराज अधिकारी सदस्य रहनुभएको तीन सदस्यीय सम्मानित व्यक्तित्व चयन समितिले गरेको हो । उहाँहरूप्रति यो संस्था आभारी रहेको छ ।
आजको समारोहमा शब्दयात्रा प्रकाशनले प्रकाशन गरेको पदमनाथ ढुङ्गानाद्वारा लिखित तथा गीता मञ्जुश्री र दामोदर घिमिरेद्वारा सम्पादित ‘कर्मयोद्धासँग शब्दसंवाद’, सरस्वती शर्मा सुवेदीद्वारा लिखित ‘परेली’ र डा. हेमराज काफ्लेद्वारा लिखित ‘अक्षरहरूको बिस्कुन’ नामक पुस्तकहरूलाई सार्वजनिक गरिँदैछ । आ–आफ्ना कृतिहरू प्रकाशनार्थ उपलब्ध गराउनुभएकोमा कृतिकारहरूप्रति यो संस्था आभारी छ ।
गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति, नीलकण्ठेश्वर धाम संरक्षण समिति, अमृत अधिकारी जस्ता धेरै सहयोगी मित्रहरूको सहयोगबाट आजको कार्यक्रम आयोजना गर्न सकिएको हो । उहाँहरूलाई धन्यवाद छ ।
आजको यस्तो महàवपूर्ण समारोहमा आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
(कार्यक्रममा अभिव्यक्त स्वागत मन्तव्य)