बनेपा । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष तथा भाषासेवी हरि मञ्जुश्रीले आफूले सम्मानमा पाएको एक लाख चौरासी रुपियाँ सरकारी निकायबाट आर्थिक सहयोग नलिई सञ्चालन गरिएको वाङ्मयिक संस्था शब्दयात्रा प्रकाशनलाई समर्पण गर्नुभएको छ । समाजसेवी चेतनाथ चौलागाईंले एक लाख चौरासी रुपियाँ सहित उहाँलाई सम्मान गर्नुभएको थियो । हरि मञ्जुश्रीले अनवरत रूपमा गर्नुभएको असल कामको कदर गर्ने क्रममा बनेपास्थित मञ्जुश्री निवास अक्षरधाममा सपरिवार पुगेर उहाँले सम्मान गर्नुभएको हो ।

त्यस बखत सम्मानित व्यक्तित्व हरि मञ्जुश्रीले उक्त रकम शब्दयात्रा प्रकाशनको अक्षरसेवी सहयोग कोषमा राखिदिने बताउनुभयो । उहाँले भन्नुभयो — “यो एक लाख चौरासी रुपियाँ मलाई भन्दा दैवी वा प्राकृतिक विपत्तिमा परेका र पर्ने लेखक, पत्रकार र कलाकारहरूलाई बढी आवश्यक पर्छ । त्यसैले लेखक, पत्रकार र कलाकारहरूलाई कुनै पनि प्रकारको विपत्ति परेर आर्थिक सङ्कट आइलागेको थाहा पाएपछि त्यस्ता व्यक्तिलाई आर्थिक सहयोग गर्ने कार्यमा म यस रकमको उपयोग गर्ने व्यवस्था मिलाउनेछु । यसबाट वास्तविक पीडितले सहायता पाउनेछन् ।”

सम्मान गर्ने व्यक्तित्व चेतनाथ चौलागाईं सिन्धुपाल्चोक जिल्लाका प्रतिभा हुनुहुन्छ । सेवानिवृत्त जीवन बिताइरहनुभएका उहाँ हाल ललितपुरको धोबीघाटमा बस्नुहुन्छ ।