पूर्वप्रशासक, शिक्षासेवी तथा समाजसेवी चन्द्रबहादुर खड्काले आफू जिल्ला शिक्षा अधिकारी बनेर मुगु जिल्लामा रहँदा त्यस जिल्लामा देखेको शैक्षिक दुरवस्थाको मार्मिक शब्दचित्रण गरी ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा उपस्थित सहभागीहरू सबैलाई भावुक बनाइदिनुभयो । शब्दयात्रा प्रकाशनद्वारा पदमनाथ ढुङ्गानाको संयोजकत्वमा साप्ताहिक रूपमा सञ्चालित उक्त कार्यक्रमको गत २०७४ वैशाख १२ गते सम्पन्न बाह«ौँ शृङ्खलामा उहाँले शिक्षा क्षेत्रमा आफूले देखेका समस्याहरूको वर्णन गर्दा श्रोताहरू द्रवित बनेका थिए ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा महाप्रबन्धक शारदाप्रसाद शर्माद्वारा उद्घोषित उक्त कार्यक्रममा समाजसेवी विष्णुहरि तिमल्सिनाले सभापतित्व ग्रहण गर्नुभएको थियो । श्रोतादीर्घामा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, शब्दयात्रा सहयोगी समाजबाट अग्रज लोकगायक मच्छेश्वर सापकोटा, शब्दयात्रा लेखक समाजबाट आध्यात्मिक लेखकद्वय ओतबहादुर खड्का र तुतुकाजी प्रणामी श्रेष्ठ, शब्दयात्रा पाठक समाजबाट लेखक दामोदर घिमिरे, ‘नेपालभूमि साप्ताहिक’ बाट बजार व्यवस्थापक दीपक तिमल्सिना, लेखक पुष्पदास स्याउला, समाजसेवी जीवन थापा आदिको समुपस्थिति रहेको थियो ।