शब्दयात्रा प्रकाशनले २०७४ सालको ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ बाट सीमाविद् बुद्धिनारायण श्रेष्ठ (ओखलढुङ्गा) र ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट अन्वेषक डा. टीकाराम अधिकारी (कास्की) लाई सम्मान गर्ने भएको छ । राष्ट्रियताको भावना प्रवद्र्धन गराई राष्ट्रिय गौरव बढाउन योगदान गर्नुभएकोमा बुद्धिनारायण श्रेष्ठलाई र कवि नन्दिकेश्वर अधिकारी र उहाँका वंशजका विषयमा लेखन–प्रकाशन गर्नुभएकोमा डा. टीकाराम अधिकारीलाई सम्मान गर्न लागिएको हो ।
यसै गरी शब्दयात्रा प्रकाशनले २०७४ सालको ‘प्रशासनिक महिला प्रतिभा सम्मान’ बाट पूर्वप्रशासक तथा कवयित्री सुधा कोइराला न्यौपाने (सिन्धुली) र ‘शब्दयात्रा सिर्जना सम्मान’ बाट शिक्षासेवी ज्ञानेन्द्रराज भट्टराई (भोजपुर) लाई सम्मानित गर्ने भएको छ । प्रशासनिक कर्मचारी भएर पनि साहित्य क्षेत्रमा योगदान गर्नुभएकोमा सुधा कोइराला न्यौपानेलाई र शब्दयात्रा प्रकाशनबाट २०७३ सालभरिमा प्रकाशित २० वटा पुस्तकमध्ये सर्वोत्तम ठहरिएको पुस्तक ‘फालिकोटको फाली’ का लागि ज्ञानेन्द्रराज भट्टराईलाई सम्मान गर्न लागिएको हो ।
सिद्धिबहादुर कर्माचार्य संयोजक र सरस्वती सापकोटा, सुदर्शन आचार्य र मोहनविनोद बजगाईं सदस्य रहनुभएको सम्मानित व्यक्तित्व चयन समितिले गरेको सिफारिसका आधारमा उहाँहरूलाई सम्मान गर्न लागिएको हो । सम्मान समर्पण गर्दा अभिवन्दनापत्र, उपहार र किरीटका साथमा ५ हजार रुपियाँ समर्पण गरिन्छ ।
शब्दयात्रा राष्ट्रझङ्कार सम्मानका लागि कृष्णहरि मैनालीले, नन्दिकेश्वर अधिकारी शोध सम्मानका लागि गीता मञ्जुश्रीले, प्रशासनिक महिला प्रतिभा सम्मानका लागि उर्मिला श्रेष्ठ भोजपुरेले र शब्दयात्रा सिर्जना सम्मानका लागि कल्याण लम्सालले आर्थिक व्यवस्थापन गर्नुभएको छ ।