दिनाङ्क ः २०७४।११।२३

श्री बेलप्रसाद श्रेष्ठज्यू
धुलिखेल, काभ्रेपलाञ्चोक ।

विषय : हार्दिक समवेदना ।

महोदय,

तपाईंका पूजनीय पिता समाजसेवी मोहनप्रसाद माकजू श्रेष्ठको देहावसान भएको समाचार सुनेर शब्दयात्रा प्रकाशन परिवार अत्यन्तै दुःखित र व्यथित बनेको छ ।
शब्दयात्रा प्रकाशनद्वारा होटल हिमालयन होराइजनमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा उहाँको गरिमामय उपस्थिति यस संस्थाका सदस्यहरूका लागि प्रेरणादायी हुने गरेको कुरा पनि हाम्रो स्मरणमा छँदैछ ।
समाजको वृहत्तर हितका लागि आफ्नो सानो स्वार्थ त्याग गर्नुपर्छ भन्ने विचारले त्यसैअनुरूपको व्यवहार गरेर उहाँ धुलिखेलको समुदायमा आदरणीय बन्नुभएको कुरा यस संस्थाले थाहा पाएको छ ।
उहाँको निधन परिवारको दुःखको विषय मात्र नभई धुलिखेलवासीको संस्कार, संस्कृति, परम्परा, सामाजिकता, इतिहास र लोकजीवनसँग सम्बन्धित विभिन्न पक्षहरूका विषयमा पछिल्लो पुस्तालाई जानकारी दिन सक्ने आधिकारिक व्यक्तिको अभाव हुनु पनि हो ।
उहाँको दुःखद अवसानको यस अवसरमा तपाईं र तपाईंको परिवारमा पर्न गएको आघात हामी अनुभूत गर्न सक्तछौँ । तर विधिको विधानअनुसार हरेक जीवात्माले चोला फेर्नैपर्ने भएको हुँदा दुःखलाई सहज रूपमा स्वीकार्नुपर्ने हाम्रो बाध्यता छ ।
यो संस्था दिवङ्गत आत्माले सधैँ शान्ति पाइरहोस् भन्ने कामना गर्दै शोकविह्वल बन्नुभएका तपाईं र तपाईंका समस्त परिवारजनप्रति हार्दिक समवेदना र सहवेदना व्यक्त गर्दछ ।

हरि मञ्जुश्री
अध्यक्ष