नेपालमा हालसम्म वाङ्मयिक क्षेत्रको स्तरीय अनुसन्धान केन्द्र नभएको हुनाले नेपालकै उच्चस्तरको अनुसन्धान केन्द्रका रूपमा ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ काभ्रे जिल्लाको बनेपामा स्थापना गर्ने लक्ष्य शब्दयात्रा प्रकाशनले राखेको छ । यस प्रतिष्ठानमा धर्म–संस्कृति, शिक्षा–शिक्षण, भाषा–साहित्य, आमसञ्चार–पत्रकारिता, गीत–सङ्गीत, इतिहास, सामाजिकता, लोकजीवन आदि वाङ्मयिक विधा र विषयमा अनुसन्धान गर्नका लागि आवश्यक सामग्रीहरू राखिनेछन् र सम्बन्धित कार्यक्रमहरू पनि गरिनेछन् । साथसाथै विभिन्न क्षेत्रका शीर्ष एवं सर्वमान्य व्यक्तित्वका सालिकहरू पनि राखिनेछन् । यहाँ राष्ट्रिय स्तरका बौद्धिक कार्यक्रमहरू भइरहने भएकाले यसका लागि सभाकक्ष, पुस्तकालय, अभिलेखालय, अतिथिशाला आदिसहितको बहुउपयोगी भवनलगायतका भौतिक संरचनाको निर्माण गर्न यो संस्था सहयोग जुटाउन प्रयास गरिरहेको छ ।
यस्तो अनुसन्धान केन्द्रको निर्माण भएर हरेक प्रकारको अनुसन्धान गर्न अनुसन्धान केन्द्रमा पुग्नैपर्ने भएपछि बनेपा क्षेत्र नेपालभरिका बौद्धिक व्यक्तित्वका लागि आकर्षक गन्तव्य बन्नेछ । यहाँ अध्यात्म, शिक्षा, साहित्य, सङ्गीत, कला, अनुसन्धान र पत्रकारिता क्षेत्रका गतिविधिहरू बढ्नेछन् । शब्दयात्रा प्रकाशनका हरेक गतिविधि र कार्यक्रमको केन्द्र पनि यही ठाउँ हुनेछ । विभिन्न विधाका शीर्ष तथा सर्वमान्य व्यक्तित्वका सालिकहरूसहित अन्य वाङ्मयसेवीहरूको सालिक राखिएको र स्तरीय अनुसन्धान केन्द्र बनेको क्षेत्रका रूपमा यस क्षेत्रको ख्याति र गौरव बढ्नेछ तथा देश–विदेशका वाङ्मयसेवीहरू यहाँ आउनैपर्ने हुनाले आन्तरिक र बाह्य पर्यटकको वृद्धि पनि हुनेछ । यस क्षेत्रबाट हरेक विश्वविद्यालय, कलेज, स्कुल तथा सामाजिक, साङ्गीतिक, आध्यात्मिक आदि संस्थाहरूलाई सहयोग पुग्नेछ ।
यस अभियानलाई सहयोग गर्न शब्दयात्रा प्रकाशनको अनुरोध छ ।