शब्दयात्रा प्रकाशनका सम्पूर्ण सदस्य महानुभावहरू !
सञ्चालक समितिको मिति २०७८ भदौ १३ गतेको बैठकबाट निर्णय भएअनुसार यही २०७८ साल असोज ९ गते शनिबार अपराह्न १ बजे कृष्ण–गीता परिसर, नीलकण्ठेश्वर धाम, बनेपामा यस शब्दयात्रा प्रकाशनको आठौँ वार्षिक साधारण सभा बस्ने भएकाले प्रकाशनका सम्पूर्ण सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यससम्बन्धी विस्तृत जानकारी ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमको प्रसारण एवं यस प्रकाशनको वेबसाइट www.sypublication.com.np मा र कार्यालयको सूचनापाटीमा सुन्न, हेर्न र पढ्न सकिनेछ । साथै सबै सदस्यज्यूहरूको घर–ठेगानामा पनि पठाइएको छ । कुनै कारणले पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानी सभामा उपस्थित भइदिन सम्बन्धित सबैमा अनुरोध छ । सदस्यज्यूहरूको सुविधाका लागि आवश्यक विवरणहरू कार्यालयमै बसी अध्ययन गर्न सकिने व्यवस्थासमेत मिलाइएकाले कार्यालय समयभित्र कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ ।

आठौँ वार्षिक साधारण सभा, २०७८ मा पेस हुने प्रस्तावहरू —
१. सञ्चालक समितिको प्रतिवेदन, २०७८ छलफल गरी पारित गर्ने ।
२. स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको वासलात र सोही मितिमा सम्पन्न आ. व. २०७७।७८ को नगद प्रवाह विवरण, नाफा नोक्सान विवरण एवं आर्थिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
३. आ. व. २०७८।७९ को लेखापरीक्षणका लागि दर्तावाला स्वतन्त्र लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।
४. आ. व. २०७८।७९ को वार्षिक कार्यक्रम र आयव्ययको संशोधित अनुमान तथा २०७९।८० का लागि अनुमानित कार्यक्रम र आयव्यय विवरण छलफल गरी पारित गर्ने ।
५. सञ्चालक समितिको पुनर्गठन गर्ने ।
६. विविध
कुनै सदस्य महानुभावले साधारण सभासमक्ष थप कुनै विषय वा प्रस्ताव प्रस्तुत गर्न चाहेमा सभा सुरु हुनुभन्दा अगावै त्यस्तो विषय वा प्रस्ताव लिखित रूपमा दर्ता गराइसक्नुपर्नेछ । साधारण सभाले स्वीकार गरेमा त्यस्तो विषय वा प्रस्तावलाई साधारण सभाको कार्यसूचीमा समावेश गरी छलफल र निर्णय गर्न सकिनेछ ।

सञ्चालक समितिका आज्ञाले :
………………….
(शारदाप्रसाद शर्मा)
महाप्रबन्धक
१३ भदौ २०७८