शब्दयात्रा प्रकाशनद्वारा आयोजना गर्ने गरिएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एक सय नवौँ शृङ्खला गत २०७७ साल साउन १६ गते शुक्रबार दिउँसो २ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कोरोनाका कारण सीमित व्यक्तिहरूको मात्र सहभागिता रहेको उक्त कार्यक्रमको सभापतित्व समाजसेवी राजेन्द्र काफ्लेले तथा उद्घोषण ज्योतिष पण्डित रमेश अधिकारीले गर्नुभएको थियो । बनेपाका युवा व्यवसायी बुद्धरत्न मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले रामको जन्मभूमि नेपालमा हो कि भारतमा हो भन्ने विषयमा उठेका सन्दर्भहरूका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले शास्त्रीय ग्रन्थ, इतिहास, भूगोल, मानवशास्त्र, भाषाविज्ञान र पुरातत्व गरी छवटा आधारमा मात्रै यस विषयमा निर्णय गर्न सकिने कुरा बताउनुभयो र रामको जन्मभूमि नेपालमा हो भन्ने कुरामा हालसम्म विभिन्न पक्षबाट दिइएका तर्क र प्रमाणहरूबारे जानकारी गराउनुभयो ।