नेपालको राजनीतिक वृत्तमा देखापरेका परिवर्तनहरूले शब्द र भाषा अनि तिनीहरूका अर्थगौरव र शिल्पसौन्दर्यलाई पनि आफ्नो प्रभावक्षेत्रभित्र पारिरहेका छन् । त्यसले गर्दा लेखन, सम्पादन, पत्रकारिता, प्रकाशन, शिक्षण, व्याख्यान आदि क्षेत्रमा संलग्न रहेका व्यक्तिहरूलाई कठिनाइ परिरहेको छ । बौद्धिक वर्ग सम्मिलित सङ्गोष्ठीहरूबाट त्यस्ता समस्याहरूको निरूपण गर्नु आवश्यक भइसकेको छ ।
राजनीतिक दृष्टिबाट हेर्दा पार्टीको सदस्य र पार्टीको कार्यकर्ताका बीचमा ताàिवक अन्तर के छ, त्यसमा स्पष्ट हुनु आवश्यक देखिन्छ । आदर्श र सिद्धान्त, यी दुई शब्दले के–के अर्थ बोक्छन्, राष्ट्रियता शब्दको वास्तविक अर्थ के हो, राष्ट्र र राज्यमा के भिन्नता छ, कार्यक्रम र रणनीतिमा के फरक छ, प्रजातन्त्र र लोकतन्त्र शब्दको तात्पर्यमा के–के पृथकता रहेको छ, समाजवाद एवं साम्यवाद शब्दलाई कसरी बुझ्ने, गणतन्त्र भनेको के हो, सङ्घीयता कस्तो स्वरूपलाई भनिन्छ, पार्टी के हो र गुट–उपगुट भनेको के हो, यस्ता थुप्रै प्रश्नहरूको वास्तविक उत्तर आम पाठकवर्ग खोजी गरिरहेका छन् । किनभने फरक–फरक राजनीतिक दलका फरक–फरक समूहहरूले आआफ्नो स्वार्थअनुकूल ती शब्दहरूको अर्थ फरक–फरक रूपमा गरिदिएकाले सुन्ने र पढ्ने व्यक्तिहरूमा अन्योल सिर्जना भइरहेको छ । यस्तो अन्योल समस्याको ठूलो कारण बनेको छ र यस समस्याले समाधानको बाटो खोजिरहेको छ ।
राजनीतिक दलहरूसँग आबद्ध व्यक्तिहरू, भाषाविद्हरू, प्राज्ञ व्यक्तित्वहरू, प्रवाचक र व्याख्याताहरू, लेखक–पत्रकारहरू, शिक्षक–प्राध्यापकहरू आदि सम्मिलित संयुक्त सङ्गोष्ठीद्वारा विभिन्न शब्द र तिनका अर्थहरूको निक्र्योल गरी राजनीतिक शब्दावलीको अलग्गै शब्दकोश निर्माण गर्न सकिन्छ । त्यसका लागि शब्दयात्रा प्रकाशनजस्ता स्वतन्त्र वाङ्मयिक संस्थाहरूलाई अग्रसर गराउन पनि सकिन्छ । त्यसो गर्न सकियो भने राजनीतिक वृत्तमा भाषिक कठिनाइहरूको समाधान हुने कुरामा विश्वस्त हुन सकिन्छ ।