शब्दयात्रा प्रकाशनले आध्यात्मिक पत्रकारिता सम्मानबाट पुरुषोत्तम सापकोटालाई, नेपालभूमि स्तम्भकार सम्मानबाट प्रेम कैदीलाई, फोटो पत्रकारिता सम्मानबाट वसन्त चित्रकारलाई र साहित्यिक पत्रिका सम्मानबाट दायित्व (द्वैमासिक) लाई सम्मान गर्ने भएको छ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्षको भदौ महिनामा समर्पण गर्ने गरेका पत्रकारिता क्षेत्रका चार विधाका यी सम्मानहरू २०७४ सालका लागि घोषणा भएका हुन् ।
पुरुषोत्तम सापकोटाले लामो समयसम्म रेडियो नेपालको धार्मिक कार्यक्रम सञ्चालन तथा आध्यात्मिक प्रवचन गर्नुभएको छ भने प्रेम कैदीले ‘रातो युगधारा’ लगायतका साप्ताहिक पत्रिकाको सम्पादन लामो समयसम्म गर्नुभएको छ । यसै गरी वसन्त चित्रकारले गोरखापत्र संस्थानमा लामो समयसम्म फोटो पत्रकारिता गर्नुभएको छ भने ‘दायित्व’ पत्रिका साहित्यिक द्वैमासिकका रूपमा २०४७ सालदेखि नियमित रूपमा प्रकाशन भइरहेको छ ।
हरेक सम्मानमा पाँच हजार रुपियाँ, उपहार, किरीट र अभिवन्दनापत्र समर्पण गरिन्छ । त्यसका लागि शब्दयात्रा प्रकाशनलाई विभिन्न व्यक्तिहरूले कोषको व्यवस्था गरिदिनुभएको छ ।
सम्मानित व्यक्तिहरूको निर्णय गर्नका लागि बीसौँ सम्मानित व्यक्तित्व चयन समितिमा रहनुभएका पूर्णबहादुर कर्माचार्य, सुनील सापकोटा र अम्बिका धितालको बैठकले सिफारिस गरेको हो ।