शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेललाई शब्दयात्रा प्रकाशनले कृतज्ञतापत्र प्रदान गरेको छ । श्री कुइँकेलले शब्दयात्रा प्रकाशनका लागि बनेपा — ११ मा अवस्थित ३ आना जग्गा दान दिनुभएको थियो ।
कृतज्ञतापत्रमा उक्त जग्गामा उपयुक्त समयमा भौतिक संरचनाको निर्माणकार्य प्रारम्भ गरिने र परिसरको नाउँ कृष्णगीता परिसर राख्ने निर्णय गरिएको कुरा उल्लेख गरिएको छ । कृतज्ञतापत्रको बेहोरा यस्तो छ —

दिनाङ्क : ३१ भदौ २०७३

श्रीमान् कृष्णमणि कुइँकेलज्यू
बनेपा, काभ्रे

विषय : कृतज्ञतापत्र

महोदय,
नेपालको वाङ्मयिक क्षेत्रमा नेपालकै लागि नमुना कार्य गर्ने लक्ष्यका साथ मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भई काभ्रे जिल्लालाई केन्द्रस्थल बनाएर विगत ५ वर्षदेखि कार्यरत शब्दयात्रा प्रकाशनको अभियानलाई मूर्त रूप दिन तपाईंले बनेपा नगरपालिका वडा नं. ११ मा रहेको कित्ता नं. ४४८४ को आफ्नो स्वामित्वको ३ आना जग्गा शब्दयात्रा प्रकाशनलाई दानपत्र गरी मालपोत कार्यालयबाट रजिस्ट्रेसन पारित गरिदिनुभएकोमा मिति २०७३ भदौ २९ गते बुधबार बसेको यस संस्थाको सञ्चालक समितिको बैठकले तपाईं र तपाईंको परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
उक्त बैठकले तपाईंबाट प्राप्त भएको जग्गाको परिसरलाई तपाईं र तपाईंकी धर्मपत्नी श्रीमती भोजकुमारी (गीता) कुइँकेलको संयुक्त नामबाट ‘कृष्णगीता परिसर’ राख्ने निर्णय पनि गरेको छ ।
उक्त जग्गामा यस संस्थाले उपयुक्त समय पारी भौतिक संरचनाको निर्माणकार्य प्रारम्भ गर्ने जानकारी पनि गराउन चाहन्छौँ ।
नेपालको नमुना वाङ्मयिक संस्थाका रूपमा शब्दयात्रा प्रकाशनलाई सुपरिचित गराउने यस भूक्षेत्रका कर्मयोगीहरूको आकाङ्क्षाका लागि बलियो आधार बनिदिनुभएकोमा यो संस्था तपाईंहरूप्रति पुन: आभार व्यक्त गर्दछ र यस्तो पुण्यकर्मका कारण नीलकण्ठेश्वर महादेवबाट तपाईं र तपाईंको परिवारलाई लौकिक र पारमार्थिक शान्ति प्राप्त भइरहनेछ भन्ने विश्वास व्यक्त गर्दछ ।

सञ्चालक समितिका पदाधिकारीहरू
हरि मञ्जुश्री, सुमन खड्का, सकुल थापा,
हरिगोपाल प्रधान र श्यामकृष्ण लम्सालका तर्फबाट
हरि मञ्जुश्री
अध्यक्ष : शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा — १०, काभ्रे