शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार’ साहित्यकार कृष्णहरि मैनालीमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । काभ्रेपलाञ्चोक जिल्लाको वाल्टिङमा २०१५ सालमा जन्मनुभएका उहाँले विभिन्न विधाका १५ वटा कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएको छ । उहाँ आध्यात्मिक विषयवस्तु लिएर नैतिक शिक्षामा जोड दिँदै साहित्यिक सिर्जना गर्ने सर्जकका रूपमा सुपरिचित हुनुहुन्छ । उहाँजस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी समाजसेवी निरोज थापाले आफ्ना मावली हजुरबुबा लीलाबहादुर केसीको सम्मानमा मध्यमार्ग साप्ताहिकमार्फत यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको थियो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन कृष्णहरि मैनालीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।