शब्दयात्रा प्रकाशनले लघु अनुसन्धान परियोजनाका रूपमा हरेक वर्ष चारजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गर्ने गरेको छ । तीमध्ये एउटा विद्वतवृत्ति ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ पनि हो । काभ्रेपलान्चोक जिल्लाका प्रतिभा सुभाष खड्का र उहाँको स्मृतिमा स्थापित संस्था सुभाष स्मृति प्रतिष्ठानसँग सम्बन्धित विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्नका लागि यो विद्वतवृत्ति समर्पण गरिन्छ । यस वर्ष २०८० सालका लागि यो विद्वतवृत्ति बनेपा — ६ निवासी लेखिका तथा शिक्षिका कालिका त्रिपाठी पन्तमा समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सकुल थापाको संयोजकत्वमा गठित प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिको निर्णयका आधारमा उहाँलाई यो विद्वतवृत्ति समर्पण गर्न लागिएको हो । विद्वतवृत्ति अन्तर्गत उहाँले सुभाष खड्काका विषयमा लेखिएका कविताहरू सङ्कलन र सम्पादन गरी ‘सुभाष खड्का’ नामक कवितासङ्ग्रह तयार पार्नुहुनेछ । विद्वतवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । यस विद्वतवृत्तिका लागि लेखक तथा पूर्वप्रशासक चन्द्रबहादुर खड्काले सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । विद्वतवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा कालिका त्रिपाठी पन्तलाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।