शब्दयात्रा प्रकाशनले लघु अनुसन्धान परियोजनाका रूपमा हरेक वर्ष चारजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गर्ने गरेको छ । तीमध्ये एउटा विद्वतवृत्ति ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ पनि हो । भोजपुर जिल्लाको शैक्षिक इतिहाससँग सम्बन्धित प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्नका लागि यो विद्वतवृत्ति समर्पण गरिन्छ । यस वर्ष २०८० सालका लागि यो विद्वतवृत्ति भोजपुरको टक्सार बजार निवासी अनुसन्धाता अमृका ताम्राकारमा समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सकुल थापाको संयोजकत्वमा गठित प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिको निर्णयका आधारमा उहाँलाई यो विद्वतवृत्ति समर्पण गर्न लागिएको हो । विद्वतवृत्ति अन्तर्गत उहाँले भोजपुर टक्सारको यशोधरा माध्यमिक विद्यालयको साङ्गोपाङ्ग इतिहास र त्यससँग सम्बन्धित अभिलेखहरूको विवरणसहित प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्नुहुनेछ । विद्वतवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । यस विद्वतवृत्तिका लागि भोजपुरका शिक्षासेवी प्रा. केदारनाथ श्रेष्ठले शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । विद्वतवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा अमृका ताम्राकारलाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।