मीरा चापागाईं पौड्यालद्वारा लिखित प्रकाशोन्मुख कवितासङ्ग्रह ‘अग्निजल’ माथि शब्दयात्रा प्रकाशनको आयोजनामा प्रकाशनपूर्व नै अन्तर्विमर्श कार्यक्रमको आयोजना गरियो । शब्दयात्रा प्रकाशनको कार्यालयमा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, ‘नेपालभूमि साप्ताहिक’ का सम्पादक सुमन खड्का र शिक्षासेवी रमेश पौड्यालको समेत उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ‘अग्निजल’ माथि साहित्यकारहरू डा. श्याम भट्टराई, शारदाप्रसाद शर्मा, भवानी पाण्डे र रामसुन्दर देउजाले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
‘अग्निजल’ लाई शब्दयात्रा प्रकाशनले ७४ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशन गरी आगामी मङ्सिर महिनामा सार्वजनिक गर्ने भएको छ । उल्लिखित साहित्यकारहरूका अतिरिक्त साहित्यिक पत्रकार तथा साहित्यकार मोहन दुवालको समेत मन्तव्य राखिएको उक्त कवितासङ्ग्रहमा एक सय बीसवटा गद्यकविताहरू सङ्गृहीत छन् ।