काभ्रेपलाञ्चोक जिल्लाका सम्पूर्ण नगरपालिकाहरूका नवनिर्वाचित प्रमुख र उपप्रमुखज्यूहरूलाई बधाईका साथ शुभकामनापत्र र विशेष उपहारका साथ सम्मान गर्न शब्दयात्रा प्रकाशनले आज यहाँहरूलाई आमन्त्रण गरेको हो । यस संस्थाको आमन्त्रणलाई स्वीकार गरेर यस कार्यक्रममा उपस्थित हुनुभएकोमा सम्पूर्ण नवनिर्वाचित नगर–प्रमुख र नगर–उपप्रमुखज्यूहरू तथा अन्य सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत गर्दछु । निर्वाचित हुनुभएकोमा उहाँहरूलगायत उपस्थित वडाअध्यक्ष र सदस्यहरूलाई पनि हार्दिक बधाई ज्ञापन गर्दछु ।
शब्दयात्रा प्रकाशन २०६८ सालमा स्थापना भई राष्ट्रिय स्तरमा परिचित भइसकेको र अनलाइनबाट विदेशमा समेत सम्पर्क बढाउँदै लगेको काभ्रे जिल्लाको सक्रिय वाङ्मयिक संस्था हो । यस संस्थाले ६ वर्षभित्र ८२ वटा पुस्तकहरू प्रकाशन गरिसकेको छ, हरेक वर्ष विभिन्न १६ वटा विधामा राष्ट्रिय व्यक्तित्वहरूलाई उपहार, प्रतिव्यक्ति ५ हजार रुपियाँ, किरीट र अभिवन्दनापत्रसहित सम्मान गर्ने गरेको छ, सम्मानका लागि अक्षयकोषमा ६ लाख रुपियाँ राख्न सकिएको छ र सम्मानका लागि बाँकी खर्च सम्मानका व्यवस्थापकहरूबाट उठाउने गरेको छ, काठमाडौँ उपत्यकाबाहेक प्रदेश नं. ३ बाट निस्कने साप्ताहिक पत्रिकाहरूमध्ये राष्ट्रिय स्तरको विचारप्रधान साप्ताहिक पत्रिकाका रूपमा ‘नेपालभूमि साप्ताहिक’ नियमित रूपमा प्रकाशित गरिरहेको छ, ‘अक्षरधाम’ नामक साहित्यिक मासिक पत्रिकाको व्यवस्थापन गरिरहेको छ, हरेक बुधबार ८९.८ मेगाहर्जबाट ‘शब्दसञ्चार’ नामक साप्ताहिक रेडियो कार्यक्रम प्रसारण गरिरहेको छ, हरेक शुक्रबार ‘शब्दसंवाद’ नामक प्रवचन कार्यक्रम सञ्चालन गरिरहेको छ, नेपालमै पहिलोपटक विपत्तिपीडित लेखक–पत्रकारहरूलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोष बनाएको छ, नेपालमै पहिलोपटक घुम्ती पुस्तक पसल बनाएको छ, वेभसाइट सञ्चालन गरेर विश्वव्यापी विद्युतीय सूचना–सन्जालसँग जोडिँदै गएको छ र काभ्रेली लेखकहरूको नाउँमा छुट्टाछुट्टै ब्लगहरू बनाइरहेको छ । यसबाट हाम्रो जिल्लाका प्रतिभाहरूको चिनारी विश्वभरि पु¥याउन थालिएको छ ।
गत वर्ष यस संस्थाले बनेपाका समाजसेवी कृष्णमणि कुइँकेलबाट बनेपा नगरपालिका वडा नं. ६ मा ५ आना जग्गा दानमा पाएको छ । त्यस जग्गामा ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ नामबाट नेपालमै पहिलोपटक वाङ्मयिक अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यो कार्य यस संस्थाको प्रथम चरणको निर्माणकार्य हुनेछ । त्यहाँ शब्दयात्रा स्तम्भ र अनुसन्धान केन्द्रको भवनसहित नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङ र प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटाको अर्धकदको सालिक स्थापना गरिने भएको छ । नेपालमा शिक्षा, साहित्य, सङ्गीत र पत्रकारिता विधाका अग्रणी व्यक्तित्वको सालिक एकै ठाउँमा स्थापना गर्न लागिएको यो पहिलोपटक हो । चारैवटा सालिकको निर्माण भइसकेको छ, स्थापना गर्नचाहिँ बाँकी छ ।
सीमित स्रोत–साधन र थोरै जनशक्ति भएर पनि ६ वर्षको अवधिमा यति काम सम्पन्न हुन सकेकाले अब स्थानीय निकायहरूमा जनप्रतिनिधिहरू निर्वाचित भइसकेपछि झन् धेरै कामहरू गर्न सकिनेछ भन्ने कुराले हाम्रो हौसला बढेको छ ।
काभ्रेपलाञ्चोक जिल्लासँग जोडिएका र कुनै पनि विधामा योगदान गरेका व्यक्तिका विषयमा तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त व्यक्तित्वहरूका बारेमा अनुसन्धान गर्नुपर्दा हरेक व्यक्तिले हाम्रै जिल्लामा आउनुपर्ने गरी अनुसन्धान केन्द्र बनाउने हाम्रो लक्ष्य हो । त्यसका लागि गुरुयोजना तयार भइसकेको छ र आर्थिक स्रोतको खोजी गरिँदैछ । संस्थाको जग्गामा त्यति काम गरिसकेपछि नेपालभरिका शिक्षासेवी, अनुसन्धाता, प्राध्यापक, साहित्यकार, पत्रकार र कलाकारका लागि हाम्रो जिल्ला आउनैपर्ने पर्यटकीय स्थल बन्नेछ ।
हामी चाहन्छौँ हाम्रो जिल्ला नेपालका बौद्धिक व्यक्तित्वहरूको आकर्षणको केन्द्र बन्न सकोस्, हरेक क्षेत्रका बुद्धिजीवीहरूलाई यस जिल्लामा ल्याएर उनीहरूको बुद्धिको उपयोग गराउन सकियोस्, हाम्रा विद्यालयहरूमा पढाइने पाठ्यपुस्तकहरू हाम्रै जिल्लाका लेखकहरूबाट लेखियून्, हाम्रो जिल्लामा प्रज्ञाप्रतिष्ठान, सांस्कृतिक संस्थान, राष्ट्रिय अभिलेखालय, केशर पुस्तकालय, मदन पुरस्कार गुठी, साझा प्रकाशन आदिजस्ता संस्थाहरू नभए पनि तिनीहरूको अभाव केही हदसम्म शब्दयात्रा प्रकाशनले पूर्ति गर्न सकोस्, काठमाडौँबाट निस्कने ठूला–ठूला दैनिक अखबारहरूबाट हाम्रो जिल्लाले सधैँ किचिनुको सट्टा हाम्रो जिल्लाबाट पनि त्यस्तै पत्रिका निकालेर राजधानीमा पठाउन सकियोस्, गुणस्तरीय मुद्रणको काम पनि यहीँ होस्, अनि अनुसन्धान, लेखन, सम्पादन, प्रकाशन, प्रसारण, वितरण क्षेत्रको सन्जाल हाम्रो जिल्लाभरि फैलिन सकोस् । यसरी हामी हाम्रो यो भूभागलाई नेपाल र नेपाली जातिलाई माया गर्ने हरेक वर्गका लागि आकर्षक बौद्धिक पर्यटनस्थल बनाउन चाहन्छौँ ।
हाम्रो यो यात्रा लामो छ र कठिन पनि छ । तर हामीलाई इतिहासले सुम्पेको यो जिम्मेवारी हामीले पूरा नगरी भएको छैन । हामीले हाम्रो पालामा यति काम पनि गर्न नसके भविष्यको पुस्ताले हामीलाई अयोग्य पुस्ता भन्ने हो कि भन्ने हामीलाई डर छ । त्यसैले हामी कठोर तपस्या गर्न अगाडि सरेका छौँ र जिल्लाका सबै नगरपालिका र गाउँपालिकाबाट सहयोगको अपेक्षा राखेका छौँ ।
शब्दयात्रा प्रकाशनसँग आबद्ध भएका र यस संस्थाको सम्पर्कमा रहेका लेखक, अन्वेषक, साहित्यकार, पत्रकार, कलाकार, शिक्षक, प्राध्यापक, सम्पादक आदि सबै जनशक्ति यस जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरूले पाठ्यक्रमको निर्माणसहित विकासकार्यमा उपयोग गराउन सकौँ भन्ने पनि हाम्रो ध्येय हो । हामी समन्वय, सहकार्य र सन्तुलनमा विश्वास राख्ने भएकाले आफ्नो क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, पुराताàिवक, सामाजिक, भाषिक, साहित्यिक, शैक्षिक, सांस्कृतिक सम्पदाका विषयमा अनुसन्धान, लेखन, प्रकाशन, प्रसारण र वितरण गर्ने, जुनसुकै प्रकारका पुस्तकहरू तयार पार्ने र अन्य बौद्धिक क्रियाकलापहरू गर्ने कार्यका लागि सहकार्य गरेर अन्य जिल्लाहरूले हामीबाट अनुकरण गर्न सक्ने कार्यहरू सम्पन्न गर्न हामी सफल बनौँ भन्ने आग्रह गर्दछु ।
अन्त्यमा, यहाँहरू सबैलाई फेरि पनि स्वागत गर्दै निर्वाचित हुनुभएकोमा प्रमुख तथा उपप्रमुखज्यूहरूलाई बधाई ज्ञापन गर्दछु र हाम्रो आमन्त्रण र सम्मानलाई स्वीकार गरिदिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट हृदयदेखि नै आभार व्यक्त गर्दछु । धन्यवाद !