शब्दयात्रा प्रकाशनले आगामी जेठ महिनामा समर्पण गर्ने चार विधाका सम्मानका लागि उपयुक्त व्यक्तिको चयन गर्न चार सदस्यीय ‘सम्मानित व्यक्तित्व चयन समिति’ को गठन गरेको छ । समितिको संयोजकमा सिद्धिबहादुर कर्माचार्य तथा सदस्यहरू सरस्वती सापकोटा, मोहनविनोद बजगाईं र सुदर्शन आचार्य रहनुभएको छ । उहाँहरूलाई यही वैशाख २७ गतेभित्र सम्मान गर्नुपर्ने व्यक्तिको नाम चयन गरिदिन आग्रह गरिएको छ ।
हरेक वर्षझैँ यस वर्ष पनि जेठ महिनाको दोस्रो साता शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, प्रशासनिक महिला प्रतिभा सम्मान, शब्दयात्रा सिर्जना सम्मान र नन्दिकेश्वर अधिकारी शोध सम्मान समर्पण गरिनेछ । सम्मान गर्न योग्य व्यक्तिको नाउँ सिफारिस गरिदिन ‘नेपालभूमि’ (साप्ताहिक) र ‘शब्दसञ्चार’ (रेडियो कार्यक्रम) बाट सार्वजनिक आह्वान गरिएको छ । प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले उपयुक्त व्यक्तिको चयन गर्नेछ र जेठ महिनाको दोस्रो साता सम्मान समर्पण समारोहको आयोजना गरी उहाँहरूलाई सम्मान गरिनेछ ।