शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा ऐतिहासिक महàवका शीर्ष व्यक्तित्वहरूको सालिक निर्माण गरी अनावरण गराएको छ । गत २०७५ मङ्सिर २६ गते बुधबार ती सालिकहरू अनावरण गरिएका हुन् । शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता, विज्ञान–प्रविधि, भाषा–साहित्य र गीत–सङ्गीत क्षेत्रका अग्रज व्यक्तित्वहरूको सालिक एकै ठाउँमा स्थापना गरिएको यो पहिलोपटक हो ।
समाजसेवी कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई दान दिएको बनेपा — ६ कुइँकेलगाउँमा पर्ने जग्गामा निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, विज्ञान विधामा पहिलोपटक प्रज्ञा पुरस्कार प्राप्त गरेका वैज्ञानिक नरबहादुर भारती, भाषा–साहित्य क्षेत्रको उन्नयनमा लागेबापत मृत्युवरण गरेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत–सङ्गीत क्षेत्रको प्रवद्र्धनका लागि पहिलोपटक स्वराङ्कन (गीत रेकर्ड) गरेकी गायिका मेलवादेवी गुरुङ गरी नेपालका मूद्र्धन्य व्यक्तित्व पाँचजनाको अर्धकदको सालिक राखिएको हो ।
बनेपा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सच्चिदानन्द केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा षडानन्द अधिकारीको सालिक नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिनाले, देवीप्रसाद सापकोटाको सालिक मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले, नरबहादुर भारतीको सालिक धुलिखेल नगरपालिकाका प्रथम नगरप्रमुख बेलप्रसाद श्रेष्ठले, कृष्णलाल अधिकारीको सालिक पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले र मेलवादेवी गुरुङको सालिक काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माले अनावरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा डा. इन्दुल केसी, रमेश अधिकारी, सोमकाजी शाक्य, प्रकाशबहादुर कायस्थ, केदारनाथ तिमल्सिना, हरिप्रसाद चौलागाई, शारदाप्रसाद शर्मा, दामोदर घिमिरे, दण्डपाणि अधिकारी आदि कविहरूले कवितावाचन गर्नुभएको थियो, समाजसेवी सुशीलकुमार अग्रवालबाट रुद्राक्षको बिरुवा रोपण गरिएको थियो, आध्यात्मिक चिन्तक मुकुन्दप्रसाद उपाध्यायले आध्यात्मिक प्रवचन गर्नुभएको थियो, रामहरि न्यौपानेले गीत प्रस्तुत गर्नुभएको थियो, इ. रोशन मञ्जुश्री अधिकारीले ‘शब्दसौगात’ नामक वृत्तचित्रको र राजु लामाले आफूले बनाएका वैज्ञानिक उपकरणहरूको प्रदर्शनी गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिका रूपमा लेखक द्रोणप्रसाद श्रेष्ठ, अग्रज लोकगायक मच्छेश्वर सापकोटा र शिक्षासेवी रामप्रसाद अधिकारी हुनुहुन्थ्यो भने सालिकका लागि सहयोग जुटाउन सहयोग गर्नुभएकोमा द्रोणप्रसाद श्रेष्ठलाई उपहार प्रदान गरिएको थियो ।
अनावरण कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीबाट र अन्य कार्यक्रमको सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माबाट गरिएको उक्त समारोहमा जग्गादाता कृष्णमणि कुइँकेल र गीता कुइँकेललाई संयुक्त रूपमा सम्मान गरिएको थियो । नैमिषारण्य गुरुकुलम्का वटुकहरूले स्वस्तिवाचन गरेर सुरु भएको अनावरण कार्यक्रममा स्वागत भाषण सञ्चालक सदस्य हरिगोपाल प्रधानले गर्नुभएको थियो भने चूडाप्रसाद चौलागाईं, चन्द्रबहादुर खड्का, त्रिरत्न रन्जितकार, माधवप्रसाद तिवारी र पदमनाथ ढुङ्गानाले व्यवस्थापन सहयोग गर्नुभएको थियो । कार्यक्रमस्थलमा सालिकका लागि सहयोग गर्नेहरूको विवरणलगायतका विभिन्न ब्यानरहरू राखिएका थिए ।
स्मरणीय छ — पुस्तकालय, सङ्ग्रहालय, अतिथिगृह, सरस्वतीको मन्दिर आदिसहितको राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र बनाएर काभ्रे जिल्लालाई शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता, विज्ञान–प्रविधि, भाषा–साहित्य र गीत–सङ्गीत क्षेत्रका नेपालभरिका व्यक्तित्वहरू काभ्रे जिल्लामा अनिवार्य रूपमा आउनैपर्ने स्थल बनाउन शब्दयात्रा प्रकाशन लागिपरेको छ । समाजको हितमा काम गरेका तर उचित मूल्याङ्कनमा पर्न नसकेका व्यक्तिहरूको इतिहास जोगाएर उनीहरूले जस्तै राम्रो काम गर्न अरूलाई उत्प्रेरित गराउन पनि यो संस्था सक्रिय छ ।
बनेपामा शब्दसाधकहरूको स्मारक बनेकोमा काभ्रे जिल्लावासीहरू हर्षित बनेका छन् । यस स्मारकले काभ्रे जिल्लामा बौद्धिक पर्यटक ल्याउन अहम् भूमिका खेल्ने र योगदानको कदर गर्ने संस्कृतिको विस्तार गराउने विश्वास गरिएको छ ।