शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ प्रा. डा. मुकेशकुमार चालिसे (ललितपुर) मा समर्पण गर्ने भएको छ । नेपालका विभिन्न ठाउँमा भएका वन्यजन्तुहरूको बानीबेहोरा र विविध प्रणालीका बारेमा अध्ययन–अनुसन्धान गरी विशेषज्ञता हासिल गर्ने क्रममा उहाँले बाँदरका विषयमा विद्यावारिधि गरेर बाँदरका भाले र पोथीको खानाका विषयमा पहिलोपल्ट जानकारी दिई प्राणीहरूको वैज्ञानिक अध्ययन–अनुसन्धान गर्नमा नेपाल पनि सक्षम र सफल छ भन्ने सन्देश विश्वलाई दिनुभएको छ । नेपालका प्रसिद्ध प्राणीशास्त्री तथा वैज्ञानिकका रूपमा विश्वमा ख्याति आर्जन गर्नुभएका उहाँलाई यिनै योगदानका लागि सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । यस सम्मानका लागि रामकृष्ण स्मृति प्रतिष्ठानले कोष व्यवस्थापन गरेको छ । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रा. डा. मुकेशकुमार चालिसेप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।