शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ साहित्यकार रेणुका भट्टराई (पाल्पा) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । काभ्रेपलाञ्चोक जिल्लामा २०३८ सालमा जन्मेर वैवाहिक सम्बन्धबाट पाल्पाली हुनुभएकी उहाँले विभिन्न साहित्यिक कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुका साथै साहित्यिक पत्रिकाहरूको पनि सम्पादन गर्नुभएको छ भने साहित्यिक संस्था र विद्युतीय सञ्चार माध्यम पनि सञ्चालन गर्नुभएको छ । श्रीमानको निधनपछि उहाँको अभियानलाई निरन्तरता दिँदै शारीरिक अस्वस्थता हुँदाहुँदै पनि उहाँ नेपालको मौलिक छन्दलय ‘झ्याउरे’ लाई पुनर्जागरण गराएर अन्तर्राष्ट्रिय व्याप्ति दिने अभियानमा हुनुहुन्छ । उहाँजस्ती कर्मशील महिलालाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । कुनै पनि विधाको कर्मशील प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी पूर्वराजदूत तथा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन रेणुका भट्टराईप्रति हार्दिक आभार व्यक्त गर्दछ ।