शब्दयात्रा प्रकाशनले यही असोज ११ गते शुक्रबार विशेष समारोहको आयोजना गरी सात विधाका सम्मान समर्पण गर्नुका साथै एउटा आध्यात्मिक गान र एउटा पुस्तक सार्वजनिक गरेको छ ।
हरेक वर्ष ३ चरणमा २२ विधाका सम्मान समर्पण गर्ने गरेको शब्दयात्रा प्रकाशनले उक्त समारोहमा २०८१ सालको दोस्रो चरणको सम्मान समर्पण गरेको हो । समारोहमा बलदेव थापा (भक्तपुर) लाई ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’, अच्युतप्रसाद पौडेल ‘चिन्तन’ (काठमाडौँ) लाई ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’, अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डल (काभ्रेपलान्चोक) लाई ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’, ‘गोलसिमल’ साहित्यिक पत्रिका (सर्लाही) लाई ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान’, प्रदीपराज वन्त (गोरखा) लाई ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’, रोमा न्यौपाने (मोरङ) लाई ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ र नीरकला शर्मा अधिकारी (चितवन) लाई ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ समर्पण गरिएको छ । यी सम्मानहरू हरिगोपाल प्रधान, सुदर्शन आचार्य, शब्दयात्रा प्रकाशन, योगेन्द्र खत्री, द्रोणप्रसाद श्रेष्ठ र बेलप्रसाद श्रेष्ठबाट व्यवस्था गरिएका हुन् ।
उक्त समारोहमा हरि मञ्जुश्रीको आध्यात्मिक गान ‘माता मे भूमिः’ लाई मच्छेश्वर सापकोटाले र डा. इन्दुल केसीद्वारा सम्पादित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तक ‘स्मृतिपुष्पका पराग’ लाई बेलप्रसाद श्रेष्ठ र डा. इन्दुल केसीले संयुक्त रूपमा सार्वजनिक गर्नुभएकोे छ ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा शारदाप्रसाद शर्माद्वारा सञ्चालित उक्त समारोहमा लेखक, समाजसेवी तथा पर्यटन व्यवसायी बेलप्रसाद श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो भने समारोहको समुद्घाटन जयनारायण नेपालले गर्नुभएको थियो । समारोहमा अभिवन्दनापत्र समर्पण चन्द्रबहादुर खड्काले, किरीट समर्पण हरि मञ्जुश्रीले, माला समर्पण पदम दाहालले, उपहार र भेटी समर्पण हरिगोपाल प्रधान, कृष्णमणि कुइकेल र द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको थियो भने छायाङ्कन तथा स्वराङ्कन इ. रोशन मञ्जुश्री अधिकारी र पद्मसुन्दर कक्षपतिले, रुद्राक्षमाला समर्पण वेदप्रसाद गौतमले, चयन समितिका सदस्यहरूलाई उपहार समर्पण टीपी शर्मा तिमिल्सिनाले, प्रमुख अतिथिलाई उपहार समर्पण कृष्णमणि कुइकेलले गर्नुभएको थियो । प्रमाणपत्र वाचन पुण्यवती घलेले र सम्मान सामग्रीको व्यवस्थापन सङ्गीता केसीले गर्नुभएको उक्त समारोहमा अमर निवासका तर्फबाट हरिनाम सङ्कीर्तन गाइएको थियो ।
समारोहमा तेस्रोपटक विश्वकीर्तिमान कायम गर्नुभएकोमा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हरिगोपाल प्रधानलाई विशेष उपहार समर्पण गरिएको थियो भने आबाल ब्रह्मचारी षडानन्द अधिकारी, मनका श्रेष्ठ र सावित्री केसीका तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्यक्रमको समापन हास्यव्यङ्ग्यकार भोजराज रेग्मी मुखालेले गर्नुभएको थियो ।