शब्दयात्रा प्रकाशनले सङ्खुवासभा जिल्लामा जन्मेर कुनै पनि क्षेत्रबाट राष्ट्रिय स्तरको योगदान गरेको व्यक्तिलाई पुरस्कार समर्पण गर्ने भएको छ । पुरस्कार हरेक वर्ष समर्पण गर्ने र पुरस्कृत गर्दा ५ हजार रुपियाँ, रुद्राक्षको माला र अभिवन्दनापत्र समर्पण गरिने भएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा प्राध्यापक केदारनाथ — लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ राखिएको छ । पुरस्कारको आर्थिक व्यवस्थापन गीतकार श्रीमती लीला श्रेष्ठले गर्नुभएको छ । त्यसका लागि उहाँले शब्दयात्रा प्रकाशनलाई १ लाख १ रुपियाँ र त्यस रकमको ब्याज जम्मा हुने बचत खाता खोल्न १ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । पुरस्कार पहिलोपटक २०७८ सालमा नै समर्पण गर्ने गरी उहाँले थप १० हजार रुपियाँ पनि उपलब्ध गराउनुभएको छ । यसका लागि शब्दयात्रा प्रकाशन र श्रीमती लीला श्रेष्ठका बीच गरिएको सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । सम्झौतापत्रमा आर्थिक व्यवस्थापकका तर्फबाट स्वयं श्रीमती लीला श्रेष्ठले र शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य श्रीमती रश्मि हुमागाईंले हस्ताक्षर गर्नुभएको छ ।