नेपालका प्रथम शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङका सालिकहरू एकै ठाउँमा स्थापना गरिएको नेपालको एक मात्र शब्दसाधक तीर्थको अवलोकन गर्न बनेपामा आउने शब्दयात्रीहरूको सङ्ख्या बढ्दै गएको छ । शब्दयात्रा प्रकाशनले स्थापना गरेको उक्त शब्दसाधक तीर्थमा रहेका सालिकहरू हेर्न र सालिकसँग बसेर फोटो खिच्न शनिबारको दिन त्यहाँ धेरै मान्छेहरू पुग्न थालेका छन् । गत मङ्सिर १८ गते शनिबार पनि त्यहाँ भीड लागेको थियो । त्यस दिन शब्दसाधक तीर्थको अवलोकन गर्न आउनेहरूमा नारायणप्रसाद वैद्य, सरस्वती वैद्य, मोहनवरसिंह प्रधान, नन्दिका प्रधान, शेषा कर्माचार्य, सफू श्रेष्ठ, श्रद्धा श्रेष्ठ आदि धेरैजना हुनुहुन्थ्यो ।