‘वरद नायक भरत जङ्गम’ पदम दाहालको कृति हो । भरत जङ्गमका विषयमा लेखिएका लेखहरू समेटिएको अभिनन्दनग्रन्थ हरि मञ्जुश्रीको सम्पादनमा प्रकाशित भएको थियो । त्यस ग्रन्थमा रहेका केही लेखलाई आधार बनाएर पदम दाहालले एक लेखमाथि अर्को लेख लेख्नुभएको थियो । यो पुस्तक त्यसरी लेखिएका लेखहरूको सङ्ग्रह हो । यस सङ्ग्रहभित्रका लेखहरू विश्लेषणात्मक अध्ययन गरी परम्परागत ढाँचामा लेखिएका विवेचनात्मक लेखभन्दा भिन्न प्रकृतिका छन् । कृतिपरक सिंहावलोकनभन्दा अनुभूतिपरक र प्रभावपरक समीक्षाले यहाँका लेखहरूमा ठाउँ पाएका छन् । त्यसैले यो पुस्तक नवीन बौद्धिक खुराक बनेको छ र यसले कृतिनायक र कृतिकार दुवैको योगदान र व्यक्तित्वमा चहक थप्न सकेको छ ।