शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा समर्पण गर्ने चार विधाको सम्मानका लागि उपयुक्त व्यक्ति वा संंस्थाको चयन गर्नका लागि ‘सम्मानित व्यक्तित्व चयन समिति’ को गठन गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित यो १७ औँ चयन समिति हो ।
उक्त समितिमा डा. पुरुषोत्तम खरेल संयोजक तथा डा. सरस्वती आचार्य, सुरेन्द्र के. सी. र शिवनाथ मैनाली सदस्य रहनुभएको छ । उहाँहरू चारैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
हरेक वर्षको मङ्सिर महिनामा समर्पण गरिने चार विधाको सम्मानका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूले सिफारिस गरी पठाउनुभएका व्यक्ति वा संस्थाका नाउँहरूमध्येबाट चयन समितिले उपयुक्त व्यक्ति वा संस्थाको चयन गर्नेछ । उक्त समितिले चयन गरेका व्यक्ति वा संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान गर्नेछ ।
सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ सिफारिस गरी पठाउन ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक) र ‘शब्दसञ्चार (साप्ताहिक रेडियो कार्यक्रम) बाट सार्वजनिक आह्वान गरिसकिएको छ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्षको मङ्सिर महिनामा बालसाहित्य, समालोचना, अनुसन्धान र कविता–काव्य विधामा सम्मान गर्ने गरेको छ । सम्मान गरिँदा नगद ५ हजार रुपियाँ, उपहार र किरीटका साथमा अभिवन्दनापत्र समर्पण गर्ने गरिएको छ । यी सम्मानहरूको आर्थिक व्यवस्थापन गोपाल पराजुली, हरिगोपाल प्रधान, सकुल थापा र कविप्रसाद प्याकु¥यालले गर्नुभएको छ ।