शब्दयात्रा प्रकाशनबाट भक्तपुर जिल्लाका राष्ट्रिय प्रतिभालाई हरेक वर्ष पुरस्कार समर्पण गर्ने गरी आख्यानकार भरत जङ्गमले शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गरिदिनुभएको छ । त्यही कोषबाट २०८२ सालका लागि उक्त पुरस्कार भक्तपुरका राष्ट्रिय प्रतिभा गायक सत्यनारायण मानन्धरमा समर्पण गरिने भएको छ । भक्तपुर जिल्लाको टौमढी टोलमा २०२३ सालमा जन्मनुभएका उहाँले नेपाली तथा नेवारी भाषाका गीतहरूका साथै मल्लराजाहरूका पुराना गीत पनि गाउनुभएको छ । एकल गीत गायन कार्यक्रम समेत सम्पन्न गर्नुभएका उहाँका ‘बिरानीमा’ र ‘सः सत्यनारायण या’ क्यासेट र ‘जिगु देश छ य छ जित अति य’, ‘दाला ज्वना न्याकुं न्याकुं कया’, ‘असं त्वा या दबु कुने’, ‘न्ये न्यापा झ्या या दरबार’ म्युजिक भिडिओहरू निस्केका छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय भए बमोजिम पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन सत्यनारायण मानन्धरप्रति हार्दिक आभार व्यक्त गर्दछ ।