Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesसङ्खुवासभा प्रतिभा पुरस्कार समर्पण

सङ्खुवासभा प्रतिभा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित तथा गीतकार लीला श्रेष्ठद्वारा व्यवस्थापित ‘शब्दयात्रा केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०७८’ सङ्खुवासभा जिल्लाका नेपाली वाङ्मयसेवी राष्ट्रिय प्रतिभा ज्ञान उदासलाई समर्पण गरियो । शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपबाट माननीय प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उहाँलाई पुरस्कारको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । उहाँलाई पुरस्कृत गर्ने क्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, शिक्षासेवी रामप्रसाद अधिकारीले गलबन्दी र शब्दयात्रा प्रकाशनका आजीवन सदस्य पुण्यवती घलेले रुद्राक्षको माला लगाइदिनुभएको थियो भने अर्थव्यवस्थापक लीला श्रेष्ठले रकम ५ हजार रुपियाँ र गीतिभास्कर मच्छेश्वर सापकोटाले उपहार प्रदान गर्नुभएको थियो ।
पुरस्कारको प्रमाणपत्रमा लेखिएको छ — “सङ्खुवासभा जिल्लाको चैनपुरमा २००० साल मङ्सिर २४ गते जन्मेर नेपाली साहित्यिक क्षेत्रमा साधनारत रही मौलिक सिर्जना, पत्रकारिता र साधकहरूको हस्ताक्षर सङ्कलन जस्ता कार्यहरूका माध्यमबाट नेपाली वाङ्मयमा महत्त्वपूर्ण योगदान दिनुभएका र आफ्नो विचार, समय, श्रम, सीप र पुँजी खर्च गरेर साहित्यिक क्रियाकलापलाई गतिशील बनाउन अहम् भूमिका खेल्नुभएका श्री ज्ञान उदास (हाल चाबहिल, काठमाडौँ) लाई उपहार, रुद्राक्षमाला, शब्दयात्रा पट्ट र रु. ५,०००।– सहित २०७८ सालको ‘शब्दयात्रा केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ को यो अभिवन्दनापत्र सादर समर्पण गर्दछौं । पुरस्कार समर्पण गर्नका लागि साहित्यकार तथा प्रमुख निर्वाचन आयुक्त श्री दिनेश थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न आजको कार्यक्रममा पुरस्कृत व्यक्तित्व श्री ज्ञान उदासको वाङ्मयिक कीर्तिपताका निरन्तर फैलिरहोस् भनी उपस्थित सम्पूर्ण सहभागीहरूका तर्फबाट भगवान्सँग प्रार्थना पनि गर्दछौं ।”
कार्यक्रममा पुरस्कृत व्यक्तित्व ज्ञान उदासले आफ्ना दुईवटा कविता वाचन गर्नुभएको थियो र मन्तव्य व्यक्त गर्दै आफूलाई पुरस्कृत गरेकोमा शब्दयात्रा प्रकाशनप्रति आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसीले पुरस्कारको प्रमाणपत्र वाचन गर्नुभएको थियो ।