शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित शब्दयात्रा घुम्ती पुस्तक पसलको औपचारिक शुभारम्भ बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे र उपप्रमुख रेखा सापकोटा दाहालले संयुक्त रूपमा गर्नुभएको छ । गत २०७४ साउन १२ गते बनेपा नगरपालिकाको परिसरमा भएको विशेष भेलामा उहाँहरूले घुम्ती पुस्तक पसलको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले संस्थाका विषयमा जानकारी गराउनुभएको उक्त सङ्क्षिप्त कार्यक्रमको सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो । त्यस बखत सकुल थापा, मच्छेश्वर सापकोटा, चन्द्रबहादुर खड्का, बद्रीप्रसाद शर्मा, पुण्यवती घले, फणीन्द्रराज अधिकारी, ओतबहादुर खड्का, विष्णुहरि तिमल्सिना, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो । उक्त पसलको व्यवस्थापन आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठले गर्ने हुनुभएको छ ।
शब्दयात्रा घुम्ती पुस्तक पसल नवीना श्रेष्ठ, भरतराज महत, ओतबहादुर खड्का, चन्द्रबहादुर खड्का, गीता मञ्जुश्री, सकुल थापा, बद्रीप्रसाद शर्मा, जगन्नाथ गिरी र उद्धवप्रसाद नेपालको आर्थिक सहयोगबाट निर्माण भएको थियो । काभ्रे जिल्लामा सञ्चालित यो पहिलो घुम्ती पतक पसल हो । पाठकहरूको सुविधाका लागि सञ्चालित यस पसलबाट शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूमा २० प्रतिशत छुट दिइने जानकारी तुतुकाजी प्रणामी श्रेष्ठले गराउनुभएको छ ।