शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ अङ्गदाता, समाजसेवी तथा साहित्यकार लीलादेवी श्रेष्ठ (सङ्खुवासभा) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । मृगौलाले काम नगरेर मरणासन्न अवस्थामा पुग्नुभएका आफ्ना श्रीमान् प्रा. केदारनाथ श्रेष्ठलाई उहाँले २७ वर्षअघि २०५५ साल जेठ १५ गते आफ्नो मृगौला दान गरेर आदर्श पत्नी र आदर्श दाताको परिचय कायम गर्नुभएको छ एवम् एउटै मृगौलाको भरमा हालसम्म समाजसेवा र साहित्यसेवामा पतिपत्नी नै सक्रिय हुनुहुन्छ । उहाँले विभिन्न संस्थालाई भौतिक सम्पत्ति पनि दान गर्नुभएको छ । उहाँजस्ती दातामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन अविकसित धुलिखेललाई विकसित धुलिखेल बनाउन नेतृत्व गर्ने समाजसेवी बेलप्रसाद श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा लीलादेवी श्रष्ठप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।
लीलादेवी श्रेष्ठलाई दानशीलता सम्मान समर्पण गरिने