आजको कार्यक्रममा सार्वजनिक गरिएका ५ वटा पुस्तकहरूमध्ये भरखरै सार्वजनिक गरिएका पाँचवटा पुस्तकहरूको सामान्य चिनारी गराउन म उपस्थित भएको हुँ ।
सार्वजनिक गरिएको पहिलो पुस्तक ‘विधवा वासना’ उपन्यास हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १ सय ३२ औँ र प्रजापति तिमिल्सिनाको दोस्रो पुस्तक हो । यो पुस्तक ३ सय ४४ पृष्ठको छ र मूल्य ५ सय रुपियाँ राखिएको छ । राणाकालीन नेपालको ग्रामीण समाजको सजीव चित्रण गरिएको र तत्कालीन पश्चिम ३ नं. को लोकजीवन उतारिएको उपन्यास ‘विधवा वासना’ लाई त्यस क्षेत्रका स्थानविशेष, भाषाविशेष, परम्पराविशेष र संस्कारविशेष आदिले आञ्चलिकता प्रदान गरेका छन् । यस उपन्यासमा वैधव्य जीवन, विधुर जीवन, नारीलाई हेर्ने दृष्टिकोण, नारी मनोविज्ञान, यौन मनोविज्ञान, यौन उत्पीडन, विधवाले समाजबाट भोग्ने दुव्र्यवहार, जातिगत विभेद, पितृसत्तात्मक सोच, मुगलान भासिनुपर्ने बाध्यता, अर्थसम्पन्न व्यक्तिबाट विपन्न वर्गले बेहोर्नुपर्ने शोषण, हिन्दूदर्शनलाई हिन्दूहरूबाटै गरिएको अवहेलना, कारागार प्रशासन, न्यायिक प्रचलन आदिको सुन्दर चित्रण गरिएको छ । तसर्थ नेपाली साहित्यमा यस उपन्यासले विशेष महàव राख्नेछ । यो उपन्यास लेख्नुभएकोमा उपन्यासकार प्रजापति तिमिल्सिनालाई हार्दिक बधाई छ ।
सार्वजनिक गरिएको दोस्रो पुस्तक ‘कवितामा सविता’ कवितासङ्ग्रह हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १ सय ३३ औँ र सविता शर्माको पहिलो पुस्तक हो । यो पुस्तक ८० पृष्ठको छ र मूल्य १ सय रुपियाँ राखिएको छ । गद्यकवितामा लयात्मकता दिइएका, सकेसम्म अन्त्यानुप्रास मिलाउने प्रयास गरिएका, छोटा–छोटा हरफका, भाषिक सरलता रहेका, बुझ्न कठिनाइ नपर्ने, अधिकांशतया व्यङ्ग्यलाई प्रधानता दिइएका ६५ वटा कविता यसमा सङ्गृहीत छन् । कुनै पनि कवितामा शीर्षक दिइएको छैन, सङ्ख्याले मात्रै सङ्केत गरिएको छ । ‘यो कवितासङ्ग्रह हो’ भन्ने धारणा नराखी पढ्ने हो भने यसभित्र गद्यलघुकाव्यको सुवास पनि पाउन सकिन्छ । ‘सविता’ शब्दले तेजोमय बिम्बको अर्थ बोक्ने र यसभित्रका कविताहरू कवयित्रीको कवित्व शक्तिलाई चहकिलो रूपमा प्रस्तुत गर्ने सवितायुक्त भएकाले कवितासङ्ग्रहको नाउँ ‘कवितामा सविता’ सार्थक देखिएको छ । यो पुस्तक लेख्नुभएकोमा कवयित्री सविता शर्मा बधाईको पात्र बन्नुभएको छ ।
सार्वजनिक गरिएको तेस्रो पुस्तक ‘पञ्चतन्त्र (प्रथम तन्त्र ः मित्रभेद)’ हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १ सय ३४ औँ र श्रीधर प्याकुरेलको सोह«ौँ पुस्तक हो । यो पुस्तक १ सय ४ पृष्ठको छ र मूल्य १ सय ५० रुपियाँ राखिएको छ । विष्णु शर्माद्वारा संस्कृत मूल भाषामा रचित ‘पञ्चतन्त्र’ पूर्वीय वाङ्मयको सुप्रसिद्ध ग्रन्थ हो । यस ग्रन्थको अनुवाद विभिन्न भाषाहरूमा भइरहेका छन् र धेरैजनाले आआफ्नै ढर्रामा प्रस्तुत गरेका छन् । नेपाली भाषामा पनि धेरै प्रकारका ‘पञ्चतन्त्र’ हरू पढ््न पाइन्छन् । त्यसै क्रममा श्रीधर प्याकुरेलद्वारा अनूदित ‘पञ्चतन्त्र (प्रथम तन्त्र ः मित्रभेद)’ कृति पनि पठनीय छ । यो पुस्तक तयार पार्नुभएकोमा अनुवादक श्रीधर प्याकुरेल बधाईको पात्र बन्नुभएको छ ।
सार्वजनिक गरिएको चौथो पुस्तक ‘आफू अरूका लागि’ निबन्धसङ्ग्रह हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १ सय ३५ औँ र निर्मला श्रेष्ठको पहिलो पुस्तक हो । यो पुस्तक ८८ पृष्ठको छ र मूल्य १ सय ३० रुपियाँ राखिएको छ । यो पुस्तक आफू र आफ्नो परिवेशलाई केन्द्रमा राखेर आफ्ना अनुभव र अनुभूतिहरूले अरूको हितमा आफूलाई समर्पित गर्न प्रेरित गराएका सन्दर्भहरूको स्मृतिलेखन हो । शैक्षिक विकास, सामाजिक सचेतना, महिला सशक्तीकरण, दिगो विकास, गरिबी न्यूनीकरण, सहकारिता, उद्यमशीलता जस्ता विषयलाई सम्बोधन गरी रोजगारीका लागि विदेशतर्फ पलायन हुने अवस्थालाई न्यून गर्न सकिने उपायहरू उहाँले यस पुस्तकमा आफ्नै अनुभवका आधारमा प्रस्तुत गर्नुभएको छ । अरूको हितका लागि आफूलाई समर्पण गर्ने शिक्षा उहाँले कसरी प्राप्त गर्नुभयो भन्ने कुरा यस पुस्तकमा पढ्दा पाठकहरूलाई सकारात्मक सोच राख्ने हो भने अरूको हितमा आफूलाई समर्पित तुल्याउन सकिँदो रहेछ भन्ने प्रेरणा प्राप्त हुनेछ । यो पुस्तक लेख्नुभएकोमा लेखिका निर्मला श्रेष्ठलाई हार्दिक बधाई छ ।
सार्वजनिक गरिएको चौथो पुस्तक ‘पच्चीस कृति र कृतिकार’ टिप्पणीसङ्ग्रह हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १ सय ३६ औँ र पुण्यवती घलेको पहिलो पुस्तक हो । यो पुस्तक ८० पृष्ठको छ र मूल्य १ सय २५ रुपियाँ राखिएको छ । यस कृतिमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित कृतिहरूमध्ये २५ जना कृतिकारको सङ्क्षिप्त चिनारी र ती कृतिकारका एक–एकवटा कृतिको सङ्क्षिप्त चिनारी गराइएको छ । कृतिको आवरण र कृतिकारको तस्बिर पनि दिइएको छ । यहाँ प्रस्तुत गरिएका कृतिमाथिका टिप्पणीहरू पुण्यवती घलेले लेख्नुभएको नभई पुस्तकभित्रैका मन्तव्यहरूबाट उतार गरिएका हुन् । यो पुस्तक जेजस्तो रूपमा प्रस्तुत भए पनि आगामी दिनमा यस्ता कृतिहरू उहाँले तयार पार्नुभयो भने अझ परिमार्जित भएर आउनेछन् भन्ने आशा गर्न सकिन्छ । यस पुस्तकको अनुवाद गर्नुभएकोमा सम्पादक पुण्यवती घलेलाई हार्दिक बधाई छ ।
भरखरै सार्वजनिक गरिएका यी साहित्यिक कृतिहरू नेपाली साहित्यिक क्षेत्रमा आफ्नै प्रकारको विशेष चिनारी राख्न सफल हुन सकून् भन्ने कामना गर्दछु ।