शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान’ समाजसेवी प्रतिभा सुवेदी (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँले जनस्तरीय संस्थाहरूको गठन र सञ्चालन, प्रशिक्षण, लेखन र प्रकाशन जस्ता विभिन्न विधाहरूबाट निरन्तर सामाजिक अभियान सञ्चालन गरेर नारी चेतना, जागरण, उत्थान र सबलीकरणका लागि लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँजस्ती सक्रिय सामाजिक अभियन्तामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन काभ्रेपलाञ्चोक जिल्लाका प्रसिद्ध समाजसुधारक हंसराज श्रेष्ठको स्मृतिमा आनन्दराज श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रतिभा सुवेदीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।