कृष्णमणि कुइँकेल । उहाँकी अर्धाङ्गिनी गीता कुइँकेल । गीताको स्वीकृति लिएर कृष्णले दिनुभो, ‘शब्द’ ले लियो । ‘शब्द’ अर्थात् शब्दयात्रा प्रकाशन । काभ्रे जिल्लालाई केन्द्र बनाएर राष्ट्रिय स्तरका गतिविधिहरू गरिरहेको संस्था । यही संस्थाले पायो उहाँबाट बनेपा नगरपालिकाको वडा नं. ६ कुइँकेलगाउँमा अवस्थित नीलकण्ठेश्वर महादेवको मन्दिरनजिकै रहेको ५ आना जग्गा । अनि पायो कार्यालयको प्रयोजनका लागि दुईतले घर पनि । घर पनि निःशुल्क ।
काभ्रे जिल्लामा साहित्यिक संस्थाका लागि जग्गा दान गर्ने दाताहरू को–को होलान्, खोज्नुपर्ने भएको छ । उनीहरू सम्मानका हकदार छन्, स्मरणका अधिकारी छन् । पनौतीका बलराम बन्जाराले कृष्णप्रसाद पराजुलीको आग्रहमा सुनकोसी साहित्य प्रतिष्ठानलाई जग्गा दान गरेको समाचार पत्रिकामा पढ्न पाइएको थियो । त्यसको उपयोग केमा भयो, मलाई थाहा छैन । अर्का दाता हुनुहुन्छ मुक्तिराज हुमागाईं । भकुन्डेबेसीको चार आना जग्गा उहाँले रोसी वाङ्मय प्रतिष्ठानलाई दिनुभएको । नमोबुद्ध नगरपालिकाका वर्तमान नगरप्रमुख टीपी शर्मा तिमिल्सिना र कवि गोविन्दबहादुर थापाको आग्रहमा दिएको हो क्यारे । त्यसमा बन्दैछ प्रतिष्ठानको भवन । त्यसपछिका दाता कृष्णमणि कुइँकेल ।
कृष्णमणि कुइँकेल साहित्यिक संस्थालाई जग्गा दान गर्ने तेस्रो काभ्रेली । तर नमागीकन दिने पहिलो काभ्रेली । शब्दयात्रा प्रकाशन भाग्यमानी संस्था रहेछ । यसले नमागीकन नगरपालिका क्षेत्रभित्रको, अरनिको राजमार्गबाट करिब १ सय मिटर दूरीमा पर्ने रमणीय जग्गा पायो, त्यो पनि शिवमन्दिरको नजिकै । अचेलको हिसाबमा त्यो जग्गाको मोल ४०–५० लाख रुपियाँ पर्ला । त्यो जग्गा नमागीकन दिनुभएको कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई ।
म अब यसको कथा कहन्छु छोटकरीमा ।
एक दिन कृष्णमणि कुइँकेल पदमनाथ ढुङ्गानालाई लिएर मकहाँ आउनुभो । शब्दयात्रा प्रकाशनको कुरा चल्यो । संस्था स्थापना गर्नुपरेको कारण खुलाएँ । संस्थामार्फत गर्न खोजिएको कामको विवरण सुनाएँ । उहाँहरूले कुनै टिप्पणी गर्नुभएन । सुन्नुभो, चिया खानुभो, जानुभो ।
गएको पाँचै मिनेटपछि मोबाइल बज्यो । पदमजीले भन्नुभो — ‘तपाईंलाई खुसीको खबर छ । कृष्णमणिजीले नीलकण्ठेश्वर महादेवको मन्दिरनजिकैको ३ आना जग्गा शब्दयात्रा प्रकाशनलाई दान गर्ने हुनुभो ।’
मैले आधी पत्याएँ, आधी पत्याइनँ । कृष्णमणि कुइँकेलले पहिले पनि जग्गा दान गरेको कुरा सुनेको हुनाले पत्याउन करै लाग्यो । तर त्यस्तो महँगो ठाउँको जग्गा मैले माग्दै नमागी दिन खोजेको कुरा कसरी पत्याउनु ! केही दिनपछि नै मालपोत कार्यालयमा गएर संस्थाको नाउँमा जग्गा खुरुक्क नामसारी गरिदिएपछि त सबैलाई पत्याउन करै लाग्यो — कृष्णमणि कुइँकेल त नमागीकन दिने दाता पो हुनुहुँदो रहेछ बाबै !
त्यो दिन मेरो मुखमा सरस्वती माता बस्नुभएको रहेछ । त्यसैले शब्दयात्रा प्रकाशनबाट गर्न खोजिएको कामको योजना सुनेर जग्गा दिऊँ–दिऊँ लागेछ कृष्णमणि कुइँकेललाई । उहाँले जग्गा दिनुभो ३ आना । पछि जग्गा नाप्ता निस्कियो ५ आना । ‘सबै जग्गा लैजाओस् शब्दयात्राले’ भन्नुभो उहाँले ।
जग्गा त दिनुभो, तैपनि संस्था चलाउन धौधौ त हुने नै भयो । संस्थाकै बारेमा कुरा चल्दा कुरैकुरामा कार्यालयका लागि भाडा तिर्न हम्मेहम्मे परेको कुरा गरेँ मैले एक दिन । कृष्णमणि कुइँकेलले तुरुन्तै भन्नुभो — ‘त्यसो भए आफ्नो व्यवस्था नभएसम्मका लागि चलाउनोस् न त जग्गाकै छेउको दुईतले घर । महादेवको घर हो । मर्मत–सम्भारचाहिँ गर्नोस् । भाडा तिर्नुपर्दैन ।’
त्यो पनि मैले मागेको थिइनँ । उहाँले नै दिनुभो । एउटा मान्छेले भरखर जन्मेको साहित्यिक संस्थालाई यसभन्दा बढी कति दिन सक्छ होला र ! उहाँले दिन सक्नेसम्म दिनुभो । कत्रो छाती उहाँको !
कृष्णमणि कुइँकेल अहिले शब्दयात्रा प्रकाशनको सञ्चालक समितिमा पनि रहनुभएको छ । उहाँले दिनुभएको जग्गामा पाँचवटा सालिक ठडिएका छन् । सालिक पहिलो शिक्षासेवी षडानन्द अधिकारीको, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटाको, राष्ट्रिय पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारतीको, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको र गीत रेकर्ड गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको । शब्दयात्रा प्रकाशनले ती सालिकहरू राख्न सक्यो । सालिक निर्माण गर्नमा, शिलान्यास गर्नमा, स्थापना गर्नमा र अनावरण गर्नमा पनि उहाँको ठूलो भूमिका रह्यो ।
कृष्णमणि कुइँकेलले दिनुभएको कथावस्तुमा मैले ‘माधुरी आचार्य’ नाउँको उपन्यास लेखेँ । मैले सम्पादन गरेका केही किताबहरूमा उहाँका लेखहरू पनि राखेँ ।
काभ्रे बनेपाको कुइँकेलगाउँमा छविलाल र धनकुमारीका सुपुत्रका रूपमा २०३४ साल वैशाख १९ गते आइतबार जन्मनुभएका कृष्णमणि कुइँकेलले हिन्दूको इज्जत बढाइदिनुभो । नेपालीको इज्जत बढाइदिनुभो । काभ्रेलीको इज्जत बढाइदिनुभो । बनेपालीको इज्जत बढाइदिनुभो । समाजसेवीको इज्जत बढाइदिनुभो । साहित्यसेवीको इज्जत बढाइदिनुभो । कुइँकेलको इज्जत बढाइदिनुभो ।
‘कृष्णमणिजी ! अफिसमा पानीको समस्या प¥यो, समाधान गरिदिनोस् न !’ ‘हस् ।’ ‘कृष्णमणिजी ! अलिकति काम गर्ने मान्छेको खाँचो प¥यो, खोजिदिनोस् न !’ ‘हस् ।’ ‘कृष्णमणिजी ! बिरुवा रोप्ने ठाउँ मिलाइदिनोस् न !’ ‘हस् ।’ ‘कृष्णमणिजी ! अहिल्यै यो सामान चाहियो, खोजिदिनोस् न !’ ‘हस् ।’ ‘कृष्णमणिजी ! जरुरी काम प¥यो, एकछिन मकहाँ आइदिनोस् न !’ ‘हस् ।’ यस्ता ‘हस्’ त कति हो कति !
शब्दयात्रा प्रकाशन भनेपछि हुरुक्कै हुने यस्ता कृष्णमणि कुइँकेलको कुरा कति गर्नु ! जति पनि गर्नु । सुन्नेले सुनिदिए र पढ्नेले पढिदिए त जति पनि गरिन्थ्यो होला ! अहिलेका लागि त भो, अरू कुरा अब म गर्दिनँ ।