शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार १० जना विद्यार्थीहरूलाई यही असोज १९ गते शुक्रबार ‘शब्दयात्रा दिव्यवती — कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७ शान्तिगोरेटो चाबहिलनिवासी श्री शेखरप्रसाद ढुङ्गानाले आफ्ना पितामाताको सम्मानमा २०८४ सालसम्मका लागि यस छात्रवृत्तिको व्यवस्था गर्नुभएको हो । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा १ की सलिना नेपाली, कक्षा २ की करिस्मा ठाकुर र कक्षा ३ का समिन घोले श्रीखण्डपुर माध्यमिक विद्यालयमा अध्ययनरत छन् भने कक्षा ४ की ईशा तामाङ र कक्षा ५ की आशा गौतम धनेश्वर महादेव प्राथमिक विद्यालयमा अध्ययनरत छन् । यसै गरी कक्षा ६ की सदीक्षा थापा र कक्षा ७ की पुष्पा जिम्बा भक्तेश्वर माध्यमिक विद्यालयमा, कक्षा ८ की प्रियङ्का महत र कक्षा ९ का राजन उपाध्याय सञ्जीवनी माध्यमिक विद्यालयमा तथा कक्षा १० की उमा भण्डारी लक्ष्मीनारायण माध्यमिक विद्यालयमा अध्ययनरत छन् । सम्बन्धित विद्यालयको सिफारिसका आधारमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । छात्रवृत्ति पाउनेहरूमा छात्र २ जना र छात्रा ८ जना छन् । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने कार्यक्रममा सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधिको उपस्थितिमा विद्यार्थीहरूलाई छात्रवृत्ति र त्यसको प्रमाणपत्र प्रदान गरिनेछ । अपाङ्गता र पत्रकारिता छात्रवृत्तिचाहिँ पछि प्रदान गरिनेछ । शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जनालाई छात्रवृत्ति दिन थालेको छ ।