शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार १० जना विद्यार्थीहरूलाई यही असोज १९ गते शुक्रबार ‘शब्दयात्रा दिव्यवती — कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ प्रदान गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७ शान्तिगोरेटो चाबहिलनिवासी शेखरप्रसाद ढुङ्गानाले आफ्ना पितामाताको सम्मानमा २०८४ सालसम्मका लागि व्यवस्था गर्नुभएको उक्त छात्रवृत्ति पाउनेहरूमा छात्र २ जना र छात्रा ८ जना छन् । ती विद्यार्थीहरूमा कक्षा १ की सलिना नेपाली, कक्षा २ की करिस्मा ठाकुर र कक्षा ३ का समिन गोले श्रीखण्डपुर माध्यमिक विद्यालयमा, कक्षा ४ की ईशा तामाङ र कक्षा ५ की आशा गौतम धनेश्वर महादेव प्राथमिक विद्यालयमा, कक्षा ६ की सदीक्षा थापा र कक्षा ७ की पुष्पा जिम्बा भक्तेश्वर माध्यमिक विद्यालयमा, कक्षा ८ की प्रियङ्का महत र कक्षा ९ का राजन उपाध्याय सञ्जीवनी माध्यमिक विद्यालयमा तथा कक्षा १० की उमा भण्डारी लक्ष्मीनारायण माध्यमिक विद्यालयमा अध्ययनरत छन् । सम्बन्धित विद्यालयको सिफारिसका आधारमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधिको उपस्थितिमा दाता शेखरप्रसाद ढुङ्गानाले विद्यार्थीहरूलाई छात्रवृत्ति र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जनालाई छात्रवृत्ति दिन थालेको छ । अपाङ्गता र पत्रकारिता छात्रवृत्तिचाहिँ पछि प्रदान गरिनेछ ।