शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान’ आयुर्वेदिक चिकित्सक तथा अनुवादक डा. छत्रपति दाहाल (काभ्रेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँले आयुर्वेदिक चिकित्सकका रूपमा लामो समयसम्म सेवा गर्नुका साथै संस्कृत भाषामा लेखिएका आयुर्वेदसम्बन्धी विभिन्न ग्रन्थहरूको नेपाली भाषामा अनुवाद तथा सम्पादन गरी नेपाली वाङ्मयलाई सुम्पनुभएको छ भने अनुसन्धान पनि गर्नुभएको छ । उहाँजस्ता आयुर्वेदिक चिकित्सक, अनुवादक, सम्पादक एवं अनुसन्धातामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन भक्तपुरका अग्रज चिकित्सक कालु वैद्यको स्मृतिमा नारायणप्रसाद वैद्य र उहाँका परिवारजन (भक्तपुर) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा डा. छत्रपति दाहालप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।