नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हिजो वैशाख २४ गते शब्दसाधक तीर्थको अवलोकन गर्न शब्दयात्रा प्रकाशन बनेपामा आउनुभयो । उहाँका साथमा पूर्वसभासद् शीला कतिला, पूर्वसभासद् ममता गिरी, बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहाल, प्राज्ञ सुषमा राजभण्डारी, पुस्तकालयविज्ञ इन्दिरा दली र विमला तिमल्सिना हुनुहुन्थ्यो । उहाँहरूलाई हरि मञ्जुश्री, सावित्री जङ्गम थापा र कृष्णमणि कुइकेलले स्वागत गर्नुभयो । शब्दयात्रा प्रकाशनले सालिक, मन्दिर र पुस्तकालय निर्माण, पुस्तक प्रकाशन, सम्मान–पुरस्कार र छात्रवृत्ति समर्पण, अतिथिगृह सञ्चालन जस्ता हालसम्मका गतिविधिका बारेमा हरि मञ्जुश्रीले जानकारी गराउनुभयो । त्यसपछि उहाँहरूले शब्दयात्रा प्रकाशनद्वारा निर्मित संरचनाहरूको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । उहाँहरूले शब्दयात्रा सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान केन्द्रका बारेमा पनि जानकारी लिनुभयो । नेपाली महिलाहरूले राष्ट्रिय विकासका विभिन्न पक्षहरूमा गरेका योगदानका विषयमा अनुसन्धान गराउन सामग्रीहरू सङ्कलन भइरहेको र अनुसन्धानको काम थालनी भई विद्वतवृत्ति पनि दिने गरेको जानकारी सावित्री जङ्गम थापाले गराउनुभयो । उहाँहरूले पनि अनुसन्धान केन्द्रका लागि यथाशक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।