शब्दयात्रा प्रकाशनको आयोजनामा २०७९ साल असार ४ गते शनिबार बनेपामा साहित्यिक कृतिहरूको सार्वजनिकीकरण समारोहको आयोजना गरी लीलादेवी श्रेष्ठ, लोकमान मास्के र हरि कोर्कालीद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पाँचवटा कृतिहरूलाई सार्वजनिक गरियो । पहिलो चरणमा लीलादेवी श्रेष्ठद्वारा लिखित ‘अठोट’ नाटक र जिन्दगीका डोबहरू’ कवितासङ्ग्रह, दोस्रो चरणमा लोकमान मास्केद्वारा लिखित ‘मनमा नअटेका कुरा’ कवितासङ्ग्रह र तेस्रो चरणमा हरि कोर्कालीद्वारा लिखित ‘जून मामा’ बालकवितासङ्ग्रह र ‘धृतराष्ट्रको शुभकामना’ व्यङ्ग्यकवितासङ्ग्रहलाई समारोहमा उपस्थित सबैले सामूहिक रूपमा एकैसाथ सार्वजनिक गर्नुभएको थियो ।
संस्कृतिविद् प्रा. डा. वीणा पौड्यालको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तीनैजना कृतिकारले मन्तव्य व्यक्त गर्नुभएको थियो । पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन साहित्यकार गायत्रीकुमार चापागाईंले र कार्यक्रमको समीक्षासहित सभाविसर्जन गायक–सङ्गीतकार बुलु मुकारुङले गर्नुभएको उक्त कार्यक्रममा केदारनाथ श्रेष्ठ, मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले गीत गाउनुभएको थियो भने दिलीप श्रेष्ठ र लक्ष्मी पोखरेलले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन शिव बन्जाराले, स्वस्तिवाचन ढुण्डिराज पोखरेलले, प्रमुख अतिथि र अतिथिहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण सफ्टवेयर इन्जिनियर रोशन अधिकारीले, फेसबुकबाट लाइभ गरी मुभी खिच्ने कार्य प्रकृति प्याकुरेलले, मञ्चमा आउने महानुभावहरूलाई रुद्राक्षको माला लगाइदिने कार्य अमृत अधिकारीले र सामग्रीको व्यवस्थापन सङ्गीता केसीले गर्नुभएको उक्त कार्यक्रममा ‘गाईजात्रा’ लगायतका अन्य पुस्तकहरू पनि उपलब्ध गराइएका थिए ।