विपत्तिमा परेका, अशक्त र पीडित साहित्यकार, कलाकार र पत्रकारलाई आर्थिक सहयोग गर्न शब्दयात्रा प्रकाशनले अक्षरसेवी सहयोग कोषको व्यवस्था गरेको छ । त्यस कोषमा कसैले अक्षयकोषको व्यवस्था गरिदिएर अनि कसैले पटक–पटक रकम जम्मा गरिदिएर सहयोग गर्नुभएको छ । त्यस्तो सहयोग गर्नेहरूमा खोटाङ जिल्लाका प्रतिभा लेखक तथा सम्पादक दामोदर घिमिरे र उहाँका भाइ लीलानाथ घिमिरे पनि हुनुहुन्छ । उहाँहरूले नियमित रूपमा सहयोग गर्नुभएको छ । यही वैशाख ५ गते पनि दामोदर घिमिरेले दिनको ५ रुपियाँ ५५ पैसाका दरले २ वर्षको ४ हजार रुपियाँ र लीलानाथ घिमिरेले दिनको १० रुपियाँका दरले २ वर्षको ७ हजार ३ सय रुपियाँ गरी जम्मा ११ हजार ३ सय रुपियाँ प्रदान गर्नुभएको छ । सो रकमको चेक उहाँहरूका तर्फबाट निर्मला भण्डारीले प्रदान गर्नुभयो र शब्दयात्रा प्रकाशनका तर्फबाट संरक्षण समितिको अध्यक्षका रूपमा हरि मञ्जुश्रीले ग्रहण गर्नुभयो । विपत्तिमा परेका, अशक्त र पीडित साहित्यकार, कलाकार र पत्रकारलाई आर्थिक सहयोग गर्नका लागि उहाँहरूले देखाउनुभएको यस्तो उदारता र सहयोगका लागि शब्दयात्रा प्रकाशन उहाँहरूप्रति हार्दिक आभार प्रकट गर्दछ ।
