प्रा. डा. कुलप्रसाद कोइरालाको प्रस्तुत पुस्तक ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष, भाषा–साहित्यसेवी तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीले गीत–सङ्गीत क्षेत्रमा गर्नुभएको योगदानका विषयमा केन्द्रित छ । यस पुस्तकका दसवटा शीर्षकमा कृतिकारले हरि मञ्जुश्रीका छुट्टाछुट्टै दसवटा गीतमाथि विवचना गर्नुभएको छ । वैदिक ग्रन्थहरूको आधारभूमिमा रचिएका गीतहरूमाथिको शास्त्रसम्मत यो विवेचना विशिष्ट कोटिको छ । पुस्तकको विषय व्यक्तिकेन्द्रित जस्तो देखिए पनि व्यक्तिलाई आधार बनाएर यस पुस्तकमा वैदिक वाङ्मयले दिएका सन्देशहरूको प्रसारण गरिएको छ । त्यसैले साहित्यिक, वैचारिक र आध्यात्मिक दृष्टिले यस पुस्तकको स्थान उच्चस्तरीय त छँदैछ, विश्वविद्यालयमा गीत–सङ्गीत विषयको अध्ययन–अध्यापन गर्ने–गराउने सन्दर्भका लागि पनि यो पुस्तक उपयोगी छ ।