पुराना पत्रकार बलदेव थापाले शब्दसाधक अतिथिगृहमा बसेर लेख्नुभएको दोस्रो पुस्तक ‘बा’ को वाम’ (ऐतिहासिक परिचय) लाई कृतिकार र उहाँकी नातिनी गङ्गा बस्नेतले २०८२ जेठ ३१ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।
शब्दयात्रा प्रकाशन प्रकाशक बनेको यो २५४ औँ पुस्तक हो । यस पुस्तकमा भक्तपुर जिल्लामा पर्ने गुण्डू क्षेत्रको विस्तृत परिचय गराउनुका साथै लेखकका पिता समाजसेवी हरिबहादुर थापा र राजनीतिकर्मी पद्मबहादुर बुढाथोकीको योगदानका बारेमा चर्चा गरिएको छ । विशेषतः किसान आन्दोलनलाई केन्द्रमा राखिएको यस पुस्तकमा राजनीति, साहित्य, पत्रकारिता र समाजसेवा क्षेत्रमा लागेका त्यस भेगका व्यक्तित्वहरू लेखनाथ न्यौपाने, युद्धप्रसाद मिश्र, भैरव रिसाल, गणेशबहादुर राउत, अङ्गीरस उपाध्याय, नेत्रनाथ शर्मा, विष्णुबहादुर खड्का, होमशङ्कर ढुङ्गेल आदिका विषयमा पनि जानकारी गराइएको छ । पञ्चायतकालीन राजनीति र वर्तमान सामाजिक अवस्थाको झल्को पनि यस पुस्तकले दिएको छ ।