शब्दयात्रा प्रकाशनले २०८१ सालको दोस्रो चरणमा समर्पण गर्ने पुरस्कारहरू हिजो २०८१ माघ २६ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा समर्पण गरेको छ । समारोहमा गीतकार तथा सङ्गीतकार श्याम तमोट, साहित्यकार अनन्त कोइराला, आध्यात्मिक लेखक टहलदास शिवाकोटी ‘यात्री’, प्रशासक हुमकला पाण्डे, इन्जिनियर दिनेश चौधरी, शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठ र लोकसङ्गीतका अन्वेषक एवं मौलिक लोकभाकाका सङ्कलक तथा गायक नवीन खड्का र गायिका पुस्तका खड्कालाई पुरस्कृत गरिएको थियो । पुरस्कृत व्यक्तित्व सबैलाई हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट लगाइदिनुभएको थियो ।
कवि कृष्ण जोशीले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, २०८१’ गीतकार तथा सङ्गीतकार श्याम तमोटमा समर्पण गरियो । उहाँलाई पूर्वप्रशासक तथा कवि जयनारायण नेपालले रुद्राक्षमाला र उपहार तथा कवि कृष्ण जोशीकी अर्धाङ्गिनी सरस्वती जोशीले रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
राम–रेवती प्रतिष्ठानले कोष व्यवस्थापन गरेको ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार, २०८१’ साहित्यकार अनन्त कोइरालामा समर्पण गरियो । उहाँलाई चिकित्सक तथा कवि डा. छत्रपति दाहालले रुद्राक्षमाला र उपहार तथा शिक्षासेवी रामप्रसाद अधिकारीले रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
बनेपा प्रकाशन प्रा. लि. का तर्फबाट गीता मञ्जुश्री अधिकारीले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक साहित्य पुरस्कार, २०८१’ आध्यात्मिक लेखक टहलदास शिवाकोटी ‘यात्री’ मा समर्पण गरियो । उहाँलाई महाकाव्यकार दुर्गाप्रसाद अधिकारीका भाइ दण्डपाणि अधिकारीले रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
पूर्वप्रशासक तथा गायिका उर्मिला श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार, २०८१’ प्रशासक हुमकला पाण्डेमा समर्पण गरियो । उहाँलाई कवि विष्णु ओलीले रुद्राक्षमाला र उपहार तथा प्रा. केदारनाथ श्रेष्ठले रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार, २०८१’ इन्जिनियर दिनेश चौधरीमा समर्पण गरियो । उहाँलाई पूर्वप्रशासक तथा लेखक द्रोणप्रसाद श्रेष्ठले रुद्राक्षमाला र उपहार तथा पूर्वप्रशासक तथा लेखक शङ्कर मानन्धरले रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
समाजसेवी लीलाबहादुर केसीको स्मृतिमा निरोज थापाले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार, २०८१’ इन्जिनियर दिनेश चौधरीमा समर्पण गरियो । उहाँलाई हरि मञ्जुश्री र पत्रकार प्रदीप केसीले रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र संयुक्त रूपमा समर्पण गर्नुभएको थियो ।
समाजसेवी तथा साहित्यकार लीलादेवी श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८१’ लोकसङ्गीतका अन्वेषक एवं मौलिक लोकभाकाका सङ्कलक तथा गायक नवीन खड्का र गायिका पुस्तका खड्कालाई संयुक्त रूपमा समर्पण गरियो । उहाँहरू हाल अमेरिकामा रहनुभएकाले उहाँहरूका तर्फबाट बहिनी लक्ष्मी खड्काले पुरस्कार ग्रहण गर्नुभएको थियो । उहाँलाई कोष व्यवस्थापक लीलादेवी श्रेष्ठले रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
वैज्ञानिक डा. मुकेशकुमार चालिसे र जनककुमारी चालिसेले कोष व्यवस्थापन गर्नुभएको ‘क्याप्टेन टीकाराम — रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार, २०८१’ ग्रहण गर्न शारीरिक अस्वस्थताले गर्दा उपस्थित हुन नसक्नुभएका वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठलाई आगामी फागुन ४ गते आइतबार उहाँको निवासमै गई पुरस्कार समर्पण गर्ने जानकारी समारोहमा गराइएको थियो ।