शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा काभ्रेपलान्चोक जिल्लाका वाङ्मयिक प्रतिभा वेदप्रसाद गौतमद्वारा लिखित ‘पृथ्वीमा मानिसका जीवनयात्रा’ नामक लेखसङ्ग्रह हिजो कार्तिक १० गते शनिबार काठमाडौँमा सार्वजनिक गरियो । कोशकार चूडामणि गौतमको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तक र लेखकका बारेमा शिक्षासेवी चूडाप्रसाद चौलागाईंले जानकारी गराउनुभएको थियो भने साहित्यसेवी नवीना श्रेष्ठले शुभकामना मन्तव्य र साहित्यकार लीलादेवी श्रेष्ठले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो ।
‘पृथ्वीमा मानिसका जीवनयात्रा’ वेदप्रसाद गौतमद्वारा लिखित पहिलो तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २३९ औँ पुस्तक हो । कार्यक्रममा कृतिकार वेदप्रसाद गौतमले पुस्तक लेख्नुको कारणका बारेमा जानकारी गराउनुभएको थियो ।
‘पृथ्वीमा मानिसका जीवनयात्रा’ पुस्तकको मूल्य ५ सय रुपियाँ राखिएको भए पनि कार्यक्रममा स्वेच्छाले न्यूनतम ५ रुपियाँसम्ममा किन्न सकिने व्यवस्था गरिएको थियो । त्यसरी बिक्रीबाट उठेको सम्पूर्ण रकम शब्दयात्रा प्रकाशनका तर्फबाट चन्द्रबहादुर खड्काले सेवक नेपाल नामक संस्थाका लागि प्रमोद तिमल्सिनालाई प्रदान गर्नुभएको थियो । काभ्रेपलान्चोक जिल्लाको मन्डन देउपुरमा आश्रम बनाई ३ दर्जनजति असहाय बालबालिकाको पालनपोषण गरेर पढाइरहेको सेवक नेपाल संस्थालाई आर्थिक सहयोग गर्न शब्दयात्रा प्रकाशनका तर्फबाट सो रकम प्रदान गरिएको थियो ।
शब्दयात्रा प्रकाशनद्वारा आयोजित उक्त कार्यक्रमको समुद्घाटन प्रा. केदारनाथ श्रेष्ठले, सञ्चालन कृष्णमणि कुइकेलले, छायाङ्कन तथा स्वराङ्कन इ. रोशन मञ्जुश्री अधिकारीले, रुद्राक्षको माला समर्पण जयनारायण नेपालले, सार्वजनिकीकरणको व्यवस्थापन कालिका त्रिपाठी पन्तले र अतिथिहरूलाई उपहार समर्पण पुण्यवती घलेले गर्नुभएको थियो ।