शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कवि अच्युत अधिकारी र रुक्मिणी अधिकारीको वैवाहिक स्वर्णमहोत्सव शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो काठमाडौँमा भव्य रूपमा मनाइयो । त्यस बखत कवि अच्युत अधिकारीद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा २४३ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘मेनका’ नामक कवितासङ्ग्रहको सार्वजनिकीकरण गरियो । शब्दयात्रा प्रकाशनले आफ्ना आजीवन सदस्यहरूका विशेष दिनहरूमा यस्तै उत्सवको आयोजना गर्ने गरेको छ ।
हिजो आयोजित वैवाहिक स्वर्णमहोत्सव कार्यक्रममा प्रमुख अतिथि शिक्षासेवी रामप्रसाद अधिकारी, सभापति शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र कृतिकार अच्युत अधिकारीले संयुक्त रूपमा ‘मेनका’ लाई सार्वजनिक गर्नुभयो । कार्यक्रममा कवि अच्युत अधिकारीको व्यक्तित्व र ‘मेनका’ को विशेषताका बारेमा कृष्णमुरारि कोइरालाले जानकारी गराउनुभएको थियो भने तारादत्त पनेरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘मेनका’ भित्रका तीनवटा कविता डा. इन्दुल केसी, केदारनाथ तिमल्सिना र प्रजापति तिमल्सिनाले वाचन गर्नुभएको थियो । प्रकाशन संस्थाका तर्फबाट पुण्यवती घलेले कृतिकारमा ‘मेनका’ समर्पण गर्नुभएको हिजोको कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट तयार पारिएको शुभकामनापत्र कवि ढुण्डिराज पोखरेलले कवि अच्युत अधिकारी र रुक्मिणी अधिकारीमा समर्पण गर्नुभएको थियो । त्यसपछि विभिन्न महानुभावहरूले अच्युत अधिकारीमा उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रममा ‘मेनका’ स्वेच्छिक रूपमा खरिद गर्ने महानुभावहरूबाट उठेको ११ हजार २ सय ५० रुपियाँ शब्दयात्रा प्रकाशनका तर्फबाट चन्द्रबहादुर खड्काले शङ्खमूल त्रिवेणी गङ्गा आरती समाजका लागि उपसंयोजक भोगेन्द्र शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।
शिक्षासेवी लोकेन्द्र ढकालले समुद्घाटन गर्नुभएको हिजोको कार्यक्रमको सञ्चालन आजीवन सदस्य कृष्णमणि कुइकेलले गर्नुभएको थियो । मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षमाला अर्पण शङ्कर मानन्धरले गर्नुभएको हिजोको कार्यक्रममा प्रा. केदारनाथ श्रेष्ठले शब्दयात्रा प्रकाशनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गर्दै कार्यक्रमको समीक्षासहित विसर्जन गर्नुभएको थियो । कार्यक्रममा कृतिकार अच्युत अधिकारीले मन्तव्यका क्रममा आफ्नो वैवाहिक स्वर्णमहोत्सवको अवसरमा कृति सार्वजनिक गर्ने कार्यक्रमको आयोजना गरिदिएकोमा शब्दयात्रा प्रकाशनलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमको व्यवस्थापन सहयोग सङ्गीता केसीले गर्नुभएको थियो ।