प्रशासनिक क्षेत्रका महिला प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी लोकसेवा आयोगका पूर्वसदस्य, पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले ‘प्रशासनिक महिला प्रतिभा पुरस्कार’ का लागि शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । शब्दयात्रा प्रकाशनले २०८२ सालका लागि उक्त पुरस्कार पूर्वप्रशासक लीलादेवी गड्तौलामा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । तेह्रथुम जिल्लाको म्याङ्लुङ पिप्लेमा २०२३ सालमा जन्मनुभएकी उहाँ नेपालको पहिलो महिला मुख्यसचिव हुनुहुन्छ । कानुन तर्जुमा र लैङ्गिक न्यायका विषयमा विशेष दखल राख्ने उहाँले देशमा हाल लागू भएको देवानी संहिता निर्माण गर्ने क्रममा आफ्नो क्षमता प्रदर्शन गर्नुभएको छ । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन लीलादेवी गड्तौलाप्रति हार्दिक आभार व्यक्त गर्दछ ।