शब्दयात्रा प्रकाशनले २०८२ सालको पहिलो चरणको पुरस्कार समर्पण तथा पुस्तक र भजनको सार्वजनिकीकरण समारोह सम्पन्न गरेको छ । शब्दयात्रा शारदा थापा सभाकक्षमा आयोजित उक्त समारोहमा आठजना स्रष्टालाई पुरस्कार समर्पण तथा एउटा पुस्तक र एउटा भजनलाई सार्वजनिक गरिएको थियो । संस्थापक अध्यक्ष हरि मञ्जुश्रीबाट सभापतित्व ग्रहण गरिएको उक्त समारोहमा पुरस्कृत व्यक्तित्वको चिनारी पुरस्करणीय व्यक्तित्व चयन समितिका संयोजक हाडजोर्नी विशेषज्ञ डा. भास्कर हुमागाईंले गराउनुभएको थियो । सञ्चालक सदस्य कृष्णमणि कुइकेलको सञ्चालनमा शिक्षासेवी डा. पुष्पलाल हुमागाईंले दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ, कार्यसम्पादन समितिका सदस्यमध्ये इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले स्वराङ्कन तथा छायाङ्कन, कालिका त्रिपाठी पन्तले पुरस्कारको अभिवन्दनापत्र वाचन, अमृत अधिकारीले पुरस्कार सामग्रीको व्यवस्थापन गर्नुभएको उक्त कार्यक्रममा आजीवन सदस्यमध्ये केदारनाथ तिमल्सिनाले मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षमाला र सहदीप पलाञ्चोकेले चयन समितिका सदस्यहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गर्नुभएको थियो । कविद्वय मुरहरि रायमाझी र शिव बन्जाराले कविता वाचन एवं साहित्यकार तथा शिक्षासेवी महेश्वर खनालले मन्तव्यसहित सभाविसर्जन गर्नुभएको थियो । कवि कृष्ण जोशी र समाजसेवी लीलाबहादुर केसीको तस्बिरमा पुष्पार्पण गरिएको उक्त कार्यक्रममा सङ्गीता केसीले विभिन्न व्यवस्थापन गर्नुभएको थियो । सरस्वती वन्दना र वैदिक स्वस्तिवाचनपछि शब्दयात्रा प्रकाशनको स्वागत गान गाइएको उक्त समारोहको अन्त्यमा शब्दयात्रा प्रकाशनको कार्यक्रम समापन गान बजाइएको थियो ।